(Sunday , 12 May,2024)

स्थानीय बजार प्रवर्द्धन गर्न विराटनगरको रानी नाकामा कडाइ, व्यापारीमा उत्साह

author

Anonymous

Image 1

विराटनगर महानगरपालिकाको समन्वयमा भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गरेका हुन् ।

उपभोग्य वस्तुहरु दाल, तेल, गेडागुडी, जिरा, धनियाँ, चिनी तथा किचनका सामान लिन नेपालबाट दैनिक सयौँ मानिस भारतीय बजार जोगवनी जाने गर्दथे । जोगवनी बजार धानिरहेका नेपाली उपभोक्ताहरु सोमबारदेखि भने कम जान थालेका छन् ।

भन्सार कार्यालयले जोगवनीबाट १ सय रुपैयाँ भन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने नियम कार्यान्वयन गरेको छ ।

भन्सारले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेकै कारण त्यहाँ खटिएका सशस्त्र प्रहरी बलको टोलीले एक सय रुपैयाँभन्दा बढीका सामान ल्याए अनिवार्य भन्सार तिराएरमात्र नेपाल ल्याउन दिने गरेको छ ।

स्थानीय बजार प्रवर्द्धन गर्न आवश्यक भएको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अहिलेको कडाई निरन्तर हुने दाबी गरेका छन् । विगतमा दैनिक ६ देखि ७ करोड रुपैयाँसम्मको कारोबार हुने जोगवनी योसँगै सुनसान बनेको छ ।

भन्सार कार्यालयले किराना वस्तु ल्याउन रोक्नुका साथै लत्ता कपडामा २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट जोडेर महशुल लिने गरेको छ । ‘विराटनगरको बजार सुक्दै जाने अनि छिमेकी राष्ट्र भारतको जोगबनी बजार फस्टाउँदै गएकाले यहाँका उद्योगी, व्यवसायी तथा साना व्यापारी व्यवसायीलाई पनि राम्रो होस् भनेर यो अभियान चालेको हो,’ महानगर प्रमुख कोइरालाले भने ।

महानगरको पहलमा भन्सारमा कडाइ गरेपछि स्थानीय व्यवसायीहरु उत्साहित भएका छन् । पछिल्लो कदमले स्वदेशी व्यापार व्यवसाय विस्तार हुने र बजार प्रवर्द्धन हुने विश्वास व्यवसायीहरुको छ ।

अवैध तथा गैरकानुनी तवरबाट नेपाल प्रवेश गर्ने वस्तुले सरकारको राजस्व र स्वदेशी बजारमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा महानगरपालिकाको सकारात्मक पहल स्वागतयोग्य रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्दराज ढकालले बताए ।

झापा र सुनसरीका नाकामा पनि कडाइ गर्न माग

विराट व्यापार संघका पूर्व अध्यक्ष सुजन थापाले विगतमा पनि यसखालको प्रयास भएको भन्दै निरन्तरता दिन आवश्यक भएको बताए । ‘म विराट व्यापार संघको अध्यक्ष हुँदा पनि यो प्रयास भएको थियो । त्यसअघि ०६८ सालमा पनि केही दिन नाकामा कडाइ गरिएको थियो । तर, त्यसबेलाको प्रयास लामो समय टिक्न सकेन । अहिले कडाइ गरिएको छ । यसलाई निरन्तरता दिनुपर्छ,’ थापाले भने ।

त्यसबाहेक विराटनगरको वा नेपालका जुनसुकै सीमा क्षेत्रका बजार गुल्जार हुनका लागि अवैध चोरी तस्करी पनि बन्द हुनुपर्ने उनको भनाक्ष् छ ।

थापाले सुनसरीको भीमपुर क्षेत्रबाट, मोरङकै बुधनगरबाट अथवा झापाका विभिन्न सीमा क्षेत्रबाट तस्करी हुने गरेको बताए । यसलाई रोकेमात्रै सीमा कडाइ गरेको सार्थकता हुने उनले बताए ।

विराटनगरका बजार व्यवसाय कमजोर र धरासायी भइरहेको बेला भएका पहलहरु सकारात्मक रहेको उनको भनाइ छ । ‘केही महिनादेखि भैरहवा नाकामा पनि कडाइ गरिएको छ, विराटनगर नाकामा पनि सुरु भएको छ, यो एकदमै राम्रो कुरा हो,’ थापाले भने, ‘मेचीदेखि महाकालीसम्मका खुल्ला व्यापारलाई बन्द गर्नुपर्छ ।’

नाकामा हुने कडाइले राजस्व वृद्धि हुने उनको भनाइ छ । यस्तै विराटनगरका उद्योगी व्यापारी देवकीनन्द अग्रवालले नाका कडाइ गरेसँगै विराटनगरमा बजारमा चहलपहल बढेको जस्तो देखिएको बताए । उनले पनि उपभोक्तालाई नभएर अवैध तरिकाले चोरी तस्करी गर्ने व्यापारीलाई पनि कडाइ गर्नुपर्नेमा जोड दिए ।

कतिपय मानिसले जोगवनीमा सस्तो पाउने सामान विराटनगरमा अत्यधिक महँगो पर्ने गरेको गुनासो गर्दै आएका छन् । तर अग्रवाल त्यसलाई मान्न तयार छैनन् ।

‘व्यापारीले त्यस्तो गर्छन् जस्तो मलाई लाग्दैन, खुल्ला बजार हो, प्रतिस्पर्धात्मक बन्नुछ, यहाँ पनि धेरै मूल्य लिँदैनन्,’ उनले भने ।

उनले रानी नाकाका अतिरिक्त सुनसरी, झापा र मोरङकै कतिपय नाकालाई अझै कडाइ गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफूहरुले समन्वय मात्रै गरेको बताए । उनले स्थानीय व्यापारलाई प्रवर्द्धन गर्ने दायित्व आफूहरुको पनि भएको भन्दै नाका कडाईको पक्षमा आफूहरु रहेको बताए ।

‘महानगरपालिकाभित्र भएका व्यापारीले व्यापार चलायमान भएन भनेका छन् । उनीहरुले आम्दानी गरेको खण्डमा नै हामीलाई कर तिर्छन् होला नि त रु त्यस हिसावले उनीहरुलाई संरक्षण गर्नुपर्ने छ हामीले । भन्सारले गरेको कडाइ राम्रो छ,’ कोइरालाले भने ।

उनले विराटनगरमा भइरहेको कालोबजारी र मनपरी मूल्य नियन्त्रणको विषयमा आफूहरु जानकार रहेको बताए । ‘हामी बजार अनुगमनको काम गर्ने तयारी गरिरहेका छौँ, हामी कालोबजारी गर्ने, दुई नम्बरी गर्ने, क्यारिङ गर्नेहरुलाई नियन्त्रण गर्न कडाईका साथ लाग्छौँ,’ कोइरालाले भने ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले तीन खालका मानिस जोगवनी जाने गरेको बताउँदै नाका कडाइ गर्नु ठिक भएको बताए । ‘पारीबाट सामान ल्याउनेहरु आफैँ उपभोग गर्ने, त्यहाँबाट ल्याएर विराटनगरका दोकानमा बेच्ने र अर्को नेपालभरि तस्करी गर्नेहरु छन्,’ उनले भने, ‘यो कडाइ गर्नु एकदमै राम्रो कुरा हो ।’

विराटनगरमा पनि सुपथ मूल्यमा उपभोक्ताले उपभोग्य वस्तु पाउनु पर्ने उनको माग छ । उनले नाका कडाई रानी क्षेत्रमा मात्रै नभइ सबैतिरको सीमानामा गरिनुपर्ने बताए ।

विराटनगरका नागरिक अगुवा बसन्त अधिकारी भने भन्सारमा कडाइ गरेको यो निर्णय राम्रो सुनिए पनि यसले नागरिकहरुलाई सस्तोमा सामान किनेर खानबाट वञ्चित गराई महँगोमा सामान खरिद गर्न बाध्य बनाउने बताउँछन् ।

‘निःसन्देह पनि स्वदेशको उत्पादन र बजारलाई प्राथमिकतामा राख्नु राम्रो हो । तर बुझ्नु पर्ने कुरा के हो भने मानिसको आफ्नो गोजीको पैसा खर्च हुने अवस्थामा सायदै भावनामा बगेर निर्णय लिन्छन्, त्यस बेला उनीहरु आफ्नो स्वविवेकको प्रयोग गर्दछन्, चाहे त्यो पढे लेखेको मानिस हुन्, अथवा अनपढ नै किन नहोस्,’ उनले भने ।

अधिकांश मानिसलाई विराटनगरको बजारमा सामान खरिद गर्ने उत्प्रेरणा भन्दा जोगबनीको बजारमा सामान खरिद गर्ने उत्प्रेरणा रहेको उनले बताए । उनले भने, ‘किनकि त्यहाँ समान खरिद गर्दा केही रकम सस्तो पर्न गई बचत हुन पुग्दछ । न्यून आय भएका मानिसहरुलाई त्यो बचत रकमले ठूलो महत्व राख्दछ ।’

नाका कडाईले अवैध ९कर छली गरेको० सामान नेपाल भित्र्याउने उत्प्रेरणालाई झन् बढाउने उनको भनाइ छ । ‘यो स्थितिलाई रोक्न बोर्डरलाई पूर्ण रुपले बन्द गरी मानिसहरुको आवत–जावतमा विशेष निगरानी राख्ने व्यवस्था हुनुपर्दछ, जुनकुरा त्यति सजिलो देखिँदैन,’ अधिकारीले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal