(Sunday , 12 May,2024)

दूध उत्पादन बढ्यो : ‘मिल्क होलिडे’को मारमा किसान

author

Anonymous

Image 1

विराटनगर । कोशी प्रदेशमा दूध उत्पादन बढेर बजारमा बिक्री नहुँदा दुध उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा परेका छन् । अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार कोशी प्रदेशमा दूध दिने गाईको संख्या ५ लाख १० हजार ३२ छ भने भैंसीको संख्या २ लाख ८७ हजार ९६८ छ ।

प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दूध उत्पादन हुने तथ्याङकमा उल्लेख छ । दूधको प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर छ भने आवश्यकता ७१ लिटरमात्रै हो ।

उक्त तथ्यांक अनुसार पनि कोशी प्रदेशमा दूध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक पशुपति ढुंगाना बताउँछन् । प्रदेशमा चालु आर्थिक वर्षमा उत्पादनको रेसियो झनै बढेको दूध विक्री वितरणमा संलग्न संघ संस्थाहरु बताउँछन् ।

मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा डेरीले गत वर्षको यही सिजनमा ४ हजार लिटर दूध संकलन गर्थ्यो । तर, अहिले ८ हजार लिटर प्रतिदिन संकलन भइरहेको छ । उक्त डेरीका सञ्चालक राजकुमार खनालले दूध बिक्री नभएर ठूलो समस्या आएको बताए ।

‘यसअघि प्रतिदिन ३५ सय लिटर थियो । चैतदेखि बढेर दैनिक ८ हजार लिटर पुग्यो । गत वर्ष कुनै समस्या भएको थिएन । अहिले अत्यधिक समस्या भएर बिहानको मात्रै दूध कलेक्सन भइरहेको छ,’ खनालले भने, ‘दूध बिक्री नभएपछि ५ सय बोरा पाउडर बनाएर राखेको छु । घ्यू मात्रै ७ हजार किलो स्टोर छ । त्यत्रो घ्यू कहिले बेचिसक्नु ।’

खनालले हरियो घाँस पर्याप्त हुँदा दूध उत्पादन बढेको बताए । ‘चैतमा डेढ लिटर दूध ल्याउने किसानले अहिले ४ लिटर ल्याइरहेका छन् । कोरोनाकालमा भन्दा संकट अहिले भोगिरहेका छौँ हामीले । ५ हजार लिटरभन्दा बढी दुध बिग्रिएपछि फाल्नुपर्यो,’ उनी भन्छन् । सरकारले दूध खरिद गरेर निर्यातमा सहजीकरण नगरेसम्म सधैँ चैत, वैशाख र जेठ महिनामा समस्या देखिने उनी बताउँछन् ।

मोरङको कानेपोखरीमा सञ्चालित मुक्ति कृषि सहकारी संस्थाले आफ्नो संकलन केन्द्रमा मात्रै विगतभन्दा धेरै दूध संकलन गरिरहेको बताएको छ । संस्थाका मेनेजर भेषराज आचार्यका अनुसार किसानले दूध उत्पादन बढाएपछि समस्या आएको छ ।

कानेपोखरीका किसान मुना अधिकारीले सहकारी र डेरीहरुले दुध किन्न छोडेको बताए। ‘अस्ति दुईतीन दिन त दूध नै संकलन गरेनन्, अहिले एक साँझको मात्र किनिरहेका छन् । यसले हामी किसानहरु मर्कामा परेका छौं,’ उनले भने।

४२ वटा दुग्ध उत्पादक सहकारी मिलेर बनेको सगरमाथा विशिष्टिकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष बाबुराम दाहालका अनुसार दूध उत्पादन यस पटक धेरै बढेको छ । जसले गर्दा यस क्षेत्रमा १५ दिन यता अघोषित रुपमा ‘मिल्क होलिडे’ को अवस्था छ ।

कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दूधमध्ये १ लाख ५० हजार लिटर दुध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटर दूध संकलन भइरहेको अध्यक्ष दाहालले जानकारी दिए ।

दुग्ध विकास संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनामा यतिबेला दूध संकलन पाँच गुणाले बढेको छ । फागुन–चैत महिनामा दैनिक ८ हजार लिटर दूध संकलन गर्दै आएको डीडीसी विराटनगरमा अहिले दैनिक ४५ हजार लिटर दूध संकलन गरिरहेको आयोजना प्रमुख परमेश्वर चौधरीले बताए ।

डीडीसीले अहिले दैनिक ३५ हजार लिटर दूधको पाउडर बनाइरहेको छ । चौधरीले अहिले झापाका बजारमा भारतबाट अनौपचारिक रुपमा दूध नेपालतर्फ नै आउने गरेको आशङ्का गरे । ‘खुला बोर्डरबाट झापामा भारतीय किसानले उत्पादन गरेको दूध आउने गरेको सूचना आइरहेको छ,’ उनले भने, ‘मोरङको पूर्वी क्षेत्रमा पनि भारतीय किसानले उत्पादन गरेको दूध आउने गरेको सुनिएको छ ।’

कोशी प्रदेशमा दूध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरुले बताएका छन् । उता, कोशी प्रदेश सरकारले दूध उत्पादन बढ्ने अनुमान गरी खपत हुन नसक्ने दूध पाउडर बनाएर राख्नका लागि छुट्टै पाउडर प्लान्ट स्थापना गर्ने कार्यक्रम अगाडि सारेको थियो ।

चार वर्ष अघि कोशी प्रदेश सरकारले दैनिक पाँच हजार किलो पाउडर ९धुलो दूध० उत्पादन  गर्ने उद्देश्यसहित सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत २० करोड रुपैयाँ नगद अनुदान दिने गरी सगरमाथा विशिष्टिकृत सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम पाउडर प्लान्ट स्थापना गरेको सहकारीले आगामी साताबाट उत्पादन सुरु गर्ने तयारी गरेको अध्यक्ष दाहालले जानकारी दिए ।

उक्त प्लाण्ट पूर्ण क्षमतामा सञ्चालन भए दैनिक ५० हजार लिटर दूध खपत गर्न सक्ने उनले बताए ।

उता, कोशी प्रदेशमा दूध उत्पादन बढ्दै गएपछि पश्चिमका डेरी उद्योगहरुले दूध लैजान थालेका छन् । गत वर्षदेखि कोशी प्रदेशबाट दूध लाँदै गरेको पोखराको सुजल डेरी उद्योगले यतिबेला दैनिक ३५ हजार लिटर दूध लगिरहेको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal