(Saturday , 11 May,2024)

मुख्यमन्त्री थापाका पाँच सारथि, को कस्ता ?

author

Anonymous

Image 1

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तत्काल मन्त्रीमण्डल ६ सदस्यीय बनाएका छन् । उनले हालसम्म पाँच मन्त्री नियुक्त गरेका छन् । नियुक्त भएका पाँच मन्त्रीमध्ये आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी जीवन आचार्यलाई दिइएको छ । अरु चार मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन

आचार्यलाई आर्थिक मामिला मन्त्रीको जिम्मा दिनुपर्ने कारण भने आर्थिक वर्षको अन्त्यमा उक्त मन्त्रालयका लागि राजनीतिक नेतृत्व चाहिने भएकोले हतार गरिएको गठबन्धनका नेताहरु बताउँछन् ।
अरु मन्त्रीहरुमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री, माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु छन् ।


नियुक्त भएका मन्त्रीहरुको मन्त्रालयको टुङ्गो लगाउन अझै चारपाँच दिन लाग्ने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । गठबन्धन दलहरुबीच आइतबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आङ्बोले राप्रपासहितको दलहरु सरकारमा सहभागी हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर मन्त्रीमण्डलमा नियुक्त मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी नदिएको बताए । ‘बाँकी मन्त्रालय बाँडफाँटको बारेमा निर्णय गर्नु अगाडि राप्रपासँग वार्ता गर्ने र सबै परिस्थिति बुझेरमात्रै विभाग र मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउने सहमति भयो,’ आङ्बोले भने ।

गठबन्धन दलको बैठक नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको थियो ।

कुन मन्त्री कस्ता रु

जीवन आचार्य

मोरङ ६ ९१०बाट निर्वाचित प्रदेशसभा सांसद जीवन आचार्य यही कार्यकालमा दोस्रो पटक मन्त्री बनेका हुन् । उनले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्रीको रुपमा २०७९ माघ ६ गते शपथ लिएका थिए । कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै उनले गत जेठ २४ गते राजीनामा दिएका थिए ।

उमेरले कोशी प्रदेशसभाको सबैभन्दा कान्छो सांसदसमेत रहेका आचार्यले डबल डिग्री हासिल गरेका छन् । शैक्षिक योग्यतामा भन्ने हो भने उनी पढेलेखेका सांसदमध्ये पर्दछन् ।

२०४२ सालमा खोटाङ बुइपाबाट मोरङको बुढीगंगा झरेका आचार्य परिवार हाल पनि बुढीगंगा–५ मै बसोबास गरिरहेका छन् । साविक हात्तीमढा–९ बाटै हुर्कने, पढ्न सुरु गरेका उनले २०५७ सालमा सरस्वती मावि दुहबीबाट एसएलसी गरेका हुन् । त्यसपछि उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट आइकम गरे भने अर्थशास्त्रमा बीए गरे ।

उनले राजनीतिशास्त्र, र अर्थशास्त्र विषय लिएर केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमए गरेका छन् ।

२०६८ साल माघ १८ गते प्रचण्डकी कान्छी छोरी गंगा दाहालसँग विवाह गरेका उनका दुई जना दिदी र एक जना दाजु छन् । जीवन आचार्य सबैभन्दा कान्छो सन्तान हुन् ।

२०५८ सालमा महेन्द्र मोरङ क्याम्पसमा अध्ययनकै क्रममा कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी २०६०–०६१ सालदेखि भने अखिल क्रान्तिकारीमा आबद्ध भएको बताउँछन् । ०६४ सालको पहिलो संविधानसभाको निर्वाचन पश्चात उनी माओवादी निकट गणतान्त्रिक मञ्चमा आबद्ध भए । त्यससँगै काठमाडौं जिल्लाको जिल्ला सदस्य, जिल्ला सचिवालय सदस्य हुँदै २०७४ सालमा प्रदेशसभा सदस्यको उम्मेद्वार बनेका थिए ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीमा प्रदेश सदस्य बनेका उनी उक्त पार्टी विभाजनसँगै प्रतिगमन विरुद्धको आन्दोलनमा सहभागी भए । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट ४० वर्ष मुनिका युवालाई प्रतिनिधित्व गराउने भन्दै छुट्याएको २० प्रतिशत कोटाबाट उनी केन्द्रीय सदस्य बनेका छन् ।

२०७९ साल मंसिरको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनबाट उम्मेद्वार बनेका उनी विजयी बनेसँगै २०७९ पुस २९ गते मन्त्री नियुक्त भएका थिए । २०८० असार २१ गते गठन भएको उद्धव थापा नेतृत्वको सरकारमा उनी आइतबार प्रदेशको शक्तिशाली मन्त्रालयको जिम्मा लिँदै पुनः मन्त्री बनेका छन् ।

राजेन्द्रकुमार कार्की

राजेन्द्र कार्कीको जन्म २०३२ श्रावण २७ गते खाँदबारी नगरपालिका ७ राम्चेमा भएको हो । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनी ०४६ सालदेखि वाम राजनीतिमा लागेका हुन् । ०५९ सम्ममा अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भएका उनले ०५४ सालदेखि हालसम्म नेकपा माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।

राजनीतिक यात्राकै क्रममा उनले २०६१ सालमा दुई वर्ष भारतको पटनामा माओवादी नेता मोहन वैद्यसँगै जेल परेका थिए । विस्तृत शान्ति सम्झौतापछि भारतले २०६५ सालमा उनलाई नेपाल पठाएको थियो । कार्की हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यका साथै संखुवासभा जिल्ला इन्चार्जसमेत छन् ।

सामान्य परिवारमा जन्मिएका उनी २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा संखुवासभाको १ ९१०बाट निर्वाचित भएका हुन् ।

कमलप्रसाद जबेगु

२०१४ साल मंसिरमा फालेलुङ–१, खुँगामा जन्मिएका उनी अनेक राजनीतिक अभियानमा सहभागी भएका छन् । काठमाडौंमा अध्ययनका क्रममा अनेरास्ववियुबाट २०३४ सालबाट राजनीति सुरु गरेका उनी २०३७ सालमा पाँचथर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भएका थिए ।

०४६ सालको जनआन्दोलन अगाडि भूमिगत भएर पनि राजनीतिक गतिविधिमा सक्रिय रहेका उनले पार्टीको सदस्यता भने ०४५ सालपछि प्राप्त गरेका हुन् । तत्कालीन माले–मार्क्सवादी मिलेर बनेको एमालेमा ०४६ सालदेखि उनी पाँचथरको जिल्ला सदस्य बने । ०४९ सालमा भएको पाँचथरको दोस्रो जिल्ला अधिवेशनबाट पुनः जिल्ला समिति सदस्य बनेका उनी त्यसपछि भने एमालेकै अञ्चल समिति सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य समेत भए ।

२०५४ सालको स्थानीय निर्वाचनमा एक्तिन गाविसको अध्यक्ष भएर काम गरेका उनी । २० वर्षपछि ०७४ सालको निर्वाचनमा फालेलुङ गाउँपालिकाको अध्यक्षको उम्मेदवार बने । यद्यपि कांग्रेसका उम्मेदवारसँग उनी पराजित बने । अन्तरघातको कारण आफू पराजित बनेको उनी बताउँछन् ।

०७४ पछि नेकपामा रहेर काम गरिरहेका उनी अध्यक्ष केपी शर्मा ओलीले प्रनिनिधिसभा विघटन गरेको विरुद्धमा उभिए । उनले नेकपा विभाजनपछि एमालेको समानान्तर समिति संयोजक बनाएर काम गर्दै विभाजित बनेपछि भने नेकपा एकीकृतको पाँचथर अध्यक्ष भएर काम गरे । अहिले पनि उनी पाँचथरको नेकपा एकीकृत समाजवादीको अध्यक्ष छन् ।

२०७९ सालको निर्वाचनमा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई पराजित गरेर जबेगु प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । उनले राजनीतिक गतिविधिसँगै सामाजिक सेवा र शिक्षक पेसामा पनि काम गरेका छन् । आईएडसम्मको अध्ययन गरेका उनी पाँचथरको १ ९१०बाट निर्वाचन सांसद हुन् ।

प्रदिपकुमार सुनुवार

ओखलढुङ्गा १ ९१०बाट निर्वाचित प्रदिपकुमार सुनुवार २०२७ साल वैशाखमा जन्मिएका हुन् । उनको स्थायी ठेगाना सोही जिल्लाको खिजिदेम्बा गाउँपालिका खिजिफलाटे हो । २०४३ सालमा ओखलढुङ्गामा चलेको पञ्चायत विरुद्धको विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनले राजनीतिक गतिविधि सुरु गरेका थिए ।

२०४३ सालमै खिजिखोला गाउँ युवक संगठनको सभापतिमा निर्वाचित भएका उनी २०४८ सालमा कांग्रेसको आठौं महाधिवेशनबाट क्षेत्रीय सदस्य, २०५० सालमा जिल्ला सदस्य, नवौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए । उनी दशौं महाधिवेशनमा जिल्ला सहसचिव निर्वाचित भए ।

०५४ सालमा खिजीखोला गाविसको अध्यक्ष भएर जिम्मेवारी सम्हालेका उनी ११ औं महाविधेशनबाट नेपाली कांग्रेस ९प्रजातान्त्रिक०को ओखलढुङ्गाको उपसभापति भए । १२ औं र १३ औं महाधिवेशनमा ओखलढुंगा कांग्रेसको सभापति हुँदै १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित बने ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक कोटामा पर्न सफल भए पनि त्यसबेला उनी सांसद बन्न सकेनन् । २०७४ सालमा भने ओखलढुंगा १ ९२०बाट माओवादी केन्द्रका उम्मेदवार मोहन खड्कासँग प्रदेश सांसदमा पराजित बनेका उनी २०७९ साल मंसिरमा सम्पन्न निर्वाचनमा ओखलढुंगा १ ९१० बाट एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङलाई पराजित गर्न सफल भए । उनको शैक्षिक योग्यता एसएलसीसम्मको मात्रै हो । हाल उनी मुख्यमन्त्री थापाको क्याबिनेटमा बिना विभागीय मन्त्री बनेका छन् ।

रामकुमार खत्री

२०३७ साल मंसिरमा उदयपुर कटारीमा जन्मिएका रामकुमार खत्रीको राजनीतिक पृष्ठभूमि लामो छैन । नेपाली कांग्रेसका बुढापाका नेताहरुको दाँजोमा उनी युवा छन् । २०५५ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सदस्यमा विजयी हुँदै उनले कांग्रेस निकट नेविसंघबाट राजनीति सुरु गरेका हुन् । त्यसपछि उनी महेन्द्र मोरङ क्याम्पसको नेविसंघ इकाई सभापति हुँदै २०६२ सालमा सम्पन्न स्ववियु निर्वाचनमा सचिव पदमा निर्वाचित भए ।

२०६५ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार बनेका उनी माओवादी निकट अखिल क्रान्तिकारीका जयराम सुन्दाससँग पराजित बने । त्यसपछि भने उनी पार्टी जिल्लामा गएर पार्टी राजनीतिमा लागेका हुन् ।

०६७ सालमा नेविसंघको केन्द्रीय सदस्य भए भने कांग्रेसको १३ औं महाधिवेशनबाट उदयपुर क्षेत्रीय सभापतिमा निर्वाचित भए । २०७४ सालको निर्वाचनमा प्रदेश सांसदमा पराजित बनेका उनी यो पटक भने उदयपुर २ ९२०बाट एमालेका उम्मेदवार जीवनाथ दाहाललाई पराजित गर्न सफल भए । प्रदेशसभामा पहिलो पटक निर्वाचित सांसद बनेका उनी क्याबिनेट मन्त्रीसमेत बनेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal