(Sunday , 12 May,2024)

कोशीमा उद्धव थापाले साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने, राप्रपाले गरेन समर्थन

author

Anonymous

Image 1

२० असार, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ ९२० अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए । उनले सभामुखसहित ४७ जना सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको पनि बताए ।

कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थापालाई छ । कांग्रेसले राप्रपाको पनि समर्थन लिने प्रयास गरे पनि सफल हुन सकेन ।

बिहीबार विहानसम्म राप्रपालार्ई गठबन्धनमा ल्याउन प्रयास गरेको थियो । तर राप्रपाले समर्थन गर्न नसक्ने बताइन् । राप्रपा सांसद सविना बजगाईले सरकारलाई समर्थन नगर्न निर्देशन आएको बताइन् । ‘सरकारका बारेमा निर्णय गर्न हामीले केन्द्रीय अध्यक्षलाई जिम्मेवारी दिएका छौं, सरकारमा सहभागी नहुने कुराहरु आइरहेको छ’ उनले भनिन्, ‘माथिबाट आधिकारिक निर्णय भने आइसकेको छैन ।’

कांग्रेसका एक सांसदले पनि राप्रपाले सहयोग गर्न नमानेको पुष्टि गरे । ‘राप्रपाले तत्काल सहयोग गर्न मानेन, विश्वासको मत लिने दिनसम्म हेरौं’, कांग्रेसका एक सांसदले भने,‘पुरानो सम्बन्ध बिर्सिएर राप्रपाले सहयोग गर्‍यो भने सरकार टिक्छ नत्र ३० दिनपछि ढल्छ ।’

बिहीबार गठबन्धनको तर्फबाट सभामुखसहित ४७ समर्थन देखाएपछि प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । थापाको शपथ ग्रहण र मन्त्रिरिषद विस्तार भने शुक्रबार हुनेछ ।

सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गरेर सरकारमा दाबी पेश गर्ने तयारी गरेपछि नेकपा एमालेले विरोध जनाएको छ । एमाले सांसद लिलाबल्लभ अधिकारीले सभामुखलाई जोडेर मुख्यमन्त्रीमा दाबी पेश गरे संविधान विपरीत हुने र सभामुखलाई भविष्यमा नैतिक संकट पर्ने दाबी गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal