(Sunday , 12 May,2024)

चिसाङमा तटबन्धन बनाउन जनश्रमदान

author

Anonymous

Image 1

लेटाङ:  देशैभर श्रमदानको अभियान चलिरहेको बेला लेटाङमा श्रमदानबाट चिसाङ खोलामा तटबन्धन बनाउन मंगलबारदेखि अभियान सुरु गरिएको छ । लेटाङ –२ को आहृवानमा चिसाङ खोलाको पश्चिमतर्फ लेटाङ –१ र २ को सिमानामा पर्ने चिसाङ गंगाघाट क्षेत्रमा तटबन्धन बनाउन श्रमदान सुरु गरिएको हो ।

उक्त क्षेत्रमा चिसाङ खोलाले खोलाको डिल कटान गरी बस्तीतिर पस्न लागेपछि वडा कार्यालयले वडाक्षेत्रका बासिन्दाहरुलाई तटबन्ध बनाउन श्रमदानमा सरिक हुन शुक्रबार आह्वान गरेको थियो ।

श्रमदानको पहिलो दिन वडा क्षेत्रका लाफा टोल र किराँत टोल तथा बिभिन्न संघ संस्थालगायतका ३ सय जनाको सहभागिता थियो । पहिलो दिनको जनश्रमदानबाट खोलाबाट २५ ट्रयाक्टर ढुङ्गा संकलन गरेर तटबन्ध बनाउने स्थानमा राखिएको छ ।

पहिलो चरणमा ६ दिनको श्रमदानको योजना बनाएको वडाले २–२ बटा टोलहरुलाई फरक–फरक दिन पारेर सहभागी हुन गरेको सूचना अनुरुप बुधबार प्रगति टोल र बीचटोलले श्रमदान गर्ने कार्यक्रम रहेको छ ।

मंगलबारको श्रमदान कार्यमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेलगायतले सहभागिता जनाएका थिए ।

लेटाङ नगरपालिकाले २ सय थान जाली उपलब्ध गराएपछि वडा कार्यलयले श्रमदानबाट पहिलो चरणमा वर्सेनि बाढी पस्ने अतिजोखिम क्षेत्रमध्ये ४ सय मिटर खण्डमा तटबन्धन गर्न लागेको हो ।

चिसाङ खोलाको सो क्षेत्रबाट खोला पस्दा लेटाङ–१ को लोखरा, लेटाङ २ र ३, केराबारी ९ तथा बेलबारीका १, २ र ३ काकरिब २५ हजार भन्दा बढी बासिन्दालाई प्रभावित पार्दै आएको छ । २०४५ सालतिर लगाइएको तटबन्धन ५ बर्षअघि खोलाले बगाएपछि सो क्षेत्रका बासिन्दा त्रासमा बस्दै आएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal