(Friday , 22 November,2024)

छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

author

Anonymous

इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । 

इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन् । मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया चराउने र छाडा छाड्ने गरेका कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक चन्दन मेहताले बताए । 

उनले भने, “सडकका पशु चौपायाले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ ।” 

राजमार्गमा देखिने पशु चौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु रविन मेहताले बताए । 

उनले भने, “मुख्य राजमार्गमा सवारी चाप हुन्छ ।  त्यसमाथि छाडा पशु चौपाया हुँदा सवारी चालकलाई समस्या हुने गर्दछ । यसको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धीत  निकायले ध्यान दिनुपर्दछ ।” 

सवारी साधनको चापका कारण चिरौली, लौकही, हरीपुर, भाण्टाबारीमा पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा भोक्राहा र कोशी गाउँपालिकाको सडकमा तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको स्थानीयवासीको भनाइ रहेको छ । 

यस क्षेत्रमा वार्षिकरुपमा हुने सवारी दुर्घटना मध्ये केही छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ रहेको छ । सडकमा छोडिएका छाडा चौपाया नियन्त्रणका लागि सम्बन्धित निकायले समेत समयमा ध्यान दिन आवश्यक रहेको मानव अधिकारकर्मी रमेश भट्टराईले बताए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal