२९ असार, दमौली । भत्किएको घरको भग्नावशेष झाडीले छेकिएको छ । अस्तित्व जोगाउन मुस्किल परेको यो भग्नावशेष आदिकवि भानुभक्त आचार्यको जन्म घरको हो ।
तनहँुको भानु नगरपालिका वडा नं। चारस्थित चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म वि।सं १८७१ असार २९ गते बुवा धनञ्जय आचार्य र आमा धर्मावती देवीको कोखमा भएको थियो ।
आदिकवि भानुभक्त आचार्य जन्मिएको घर जलेको झण्डै २२ वर्ष पुगिसक्दा पनि अझै पुनर्निर्माण हुन सकेको छैन । यसले गर्दा भानुको जन्म घर हेर्ने चाहना राखेर चुँदीरम्घामा पुगेका साहित्यप्रेमीको मनै भारी हुने गरेको छ ।
२०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले घर पुनर्निर्माण गरेको थियो । पुनर्निर्माण गरेको घर २०६० वैशाख १० जंगलमा लागेको डढेलोको चपेटामा परेर ध्वस्त भको थियो । भानुको जन्मघर नजिक बस्ती नभएकाले जंगलले घेरिएको छ ।
भानु जन्मस्थल विकास समितिका अनुसार जंगलले घेरिएकाले जोगाउन मुस्किल पर्ने हुँदा घर पुनर्निर्माण गर्न नसकिएको हो । घर जोगाउन कठिन भएपछि घरकै परिसरमा ‘रामायण भवन’ बनाइएको छ । त्यो पनि अलपत्र अवस्थामा छ । दुई करोड ६० लाख रुपैयाँ लागतमा दुई वर्ष अघि निर्माण सम्पन्न भएको रामायण भवन साहित्यिक गतिविधि नहुँदा उदघाटन नहुँदै जीर्ण बनेको छ ।
रामायण भवन
भानुजन्मस्थल क्षेत्रको विकास तथा भानुसम्बन्धी ऐतिहासिक संरचनाको संरक्षण गर्न भन्दै पश्चिमाञ्चल विकास मञ्चले भानुको घर पुनर्निर्माणमा चासो देखाएको थियो । भानुको जन्मघर, रामायण घर, संग्रहालय निर्माणदेखि सहज यातायात पहुँच पु¥याउने लगायतका काम गर्न मञ्चले करिब १० करोड रुपैयाँको गुरुयोजना तयार पारेको छ । गुरुयोजनाको शिलान्यान्स भए पनि काम केही भएको छैन ।
भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले भने, ‘गुरुयोजनाको लागि शिलायान्स त गरे । तर अहिलेसम्म केही पनि काम गरेका छैनन् । विभिन्न समस्या देखाउँदै पन्छिएका छन् ।’
भानुको जन्मस्थल क्षेत्रको विकास गरेर साहित्यिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सरकारले २०५२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहने गरी भानु जन्मस्थल विकास समिति गठन गरेको थियो । समितिका लागि बजेट पनि विनियोजन हुने गरेको छ । तर, विनियोजित बजेट न्यून हुँदा कार्यालय सञ्चालनमा मात्रै ठिक्क हुने गरेको कार्यकारी निर्देशन रानाभाट बताउँछन् । ‘सुरुमा जे जति महत्वका साथ समिति गठन गरिएको थियो, पछि राज्य पक्षको पर्याप्त चासो नपुग्दा र समयमै आवश्यक बजेट विनियोजन नहुँदा अहिले समितिले प्रभावकारी काम गर्न सकेको छैन,’ उनले भने ।
यहाँ भानुभक्त संग्रहालयको रूप दिएर प्रचारप्रसार गर्ने काम पनि हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयका इतिहासविद् डा। रामराज सुवेदीको नेतृत्वमा भानुको जन्मघरको उत्खनन् गर्दा घडेरीको जगसम्मको अवशेष, मूलढोकाको संघार, थाम अड्काउने इलम, ढुंगाको छपनीले पुरिएको अगेनाको खरानी, चाँदीको बाला, थुर्पी लगायतका सामग्री फेला परेका थिए ।
ती सबै सामग्री चुँदीरम्घाबेंसीमा रहेको पुस्तकालयको संग्रहालयहमा राखिएको छ । उक्त पुस्तकालयमा भानुद्वारा लेखिएका हस्तलिखित पाण्डुलिपि तथा रचना गरी करिब ५ हजार वटा पुस्तक संग्रहित छन् ।
तर, बढ्दो आधुनिकीकरणसँगै युवा पिढी पुस्तकालयमा आउन छाडेको पुस्तकालय व्यवस्थापक बताउँछन् । भानु जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल रुपमा विकास गर्न स्थानीय बासिन्दाले माग गर्दै आएका छन् ।
तनहुँ निवासी राष्ट्रपति रामचन्द्र पौडेलले पनि २१० औं भानुजयन्तीको अवसरमा एक सन्देश दिँदै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न सके भानुप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखेका छन् ।
भानुभक्तको योगदानको कदर गर्दै उनको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि अझै देखिने गरी केही काम नभएकोप्रति चुँदी रम्घाका बासिन्दा असन्तुष्ट छन् ।
चुँदीरम्घालाई सरकारले खास चासो नदिने, समितिले केही गर्न नसक्ने अनि अन्य क्षेत्रबाट काम हुने चर्चा चले पनि काम नहुने लगायतका विविध कारणले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा परेको छ । अहिले भानुको जन्मस्थल असार २९ गते बाहेक प्रायः सुनसान हुन्छ ।
२००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको हो । उनलाई नेपालमा आदिकवि, राष्ट्रिय विभूति, जातीय कवि लगायत नामले चिनिन्छ । उनको सम्मानमा नगरपालिकाको नाम नै ‘भानु’ राखिएको छ । तर भानुभक्त जन्मेको गाउँ, जहाँ बसेर उनले काव्य रचना गरेका थिए, अहिले पनि संरक्षणको पर्खाइमा छ ।
प्रतिक्रिया