(Friday , 10 May,2024)

मणिपाल प्रकरण : आठौँ दिनमा उठ्यो सुकमायाको शव, प्रहरीद्वारा नौ जना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

१६ असोज, पर्वत - गत असोज आठ गते उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएकी लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीय सुकमाया दुराको शव आफन्तले बुझेका छन्।

श्वासप्रश्वास तथा ढाड दुख्ने समस्यासम्बन्धी बिरामी भएपछि असोज सात गते अस्पतालमा भर्ना गरिएकी दुराको उपचारमा लापरबाही भएको भन्दै आफन्तले चिकित्सकमाथि हातपात गरेपछि चिकित्सकहरू पनि आन्दोलनमा उत्रे।

दुवै पक्षबाट आन्दोलन चर्किँदै जाँदा उनीहरूबीच सहमति हुन सकेन। तर पछि छ बुँदे सहमति भएपछि मृतकका आफन्त र चिकित्सक दुवै पक्षले आन्दोलन फिर्ता गरे पनि दुराको शव उठ्न सकेको थिएन।

चिकित्सकमाथि हातपात गरेको तथा अस्पतालमा तोडफोड गरेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। पक्राउ परेको मृतक दुरा पक्षका व्यक्तिहरूलाई प्रहरीले रिहा नगरेसम्म आफूहरूले शव नउठाउने उनीहरूको माग थियो।

महिलाको मृत्यु भएकै दिनमा तोडफोड गरेको भन्दै प्रहरीले विनय गुरुङलाई पक्राउ गरेको थियो। अस्पतालमा तोडफोड गर्नेहरूलाई कारबाही हुनुपर्ने भन्दै प्रहरीले सी.सी.टी.भी. फुटेज हेर्दै आक्रमण र तोडफोडमा संलग्नहरूलाई खोज्दै गयो। सोही क्रममा न्युरोडबाट थप सात जना पक्राउ परे।

पक्राउ परेका मृतक पक्षका व्यक्तिहरूलाई रिहा नगरेसम्म शव नबुझ्ने अडानमा रहेका सुकमायाका आफन्तहरूलाई प्रहरीले उनीहरूको रिहाइका लागि सहजीकरण गर्ने आश्वासन दिएपछि आफन्तले शव उठाएर लमजुङ नै लगेका हुन्।

कास्की प्रहरी भने दोषीलाई उन्मुक्ति दिनको लागि सहजीकरण गर्ने ‘मुड’ मा देखिँदैन। अस्पतालमा हो हल्ला गर्ने, तोडफोड गर्ने, चिकित्सकमाथि आक्रमण गर्ने तथा मृतकका आफन्तमाथि जाइलागेका चिकित्सकहरूलाई पनि नछाड्ने गरी प्रहरीले सक्रियता देखाइरहेको छ।

दोषीहरूलाई पहिचान गर्दै नियन्त्रणमा लिने अभियानमा रहेको प्रहरीले थप एक जनालाई गर्नुले पनि प्रहरीले दोषीलाई सहजै छाड्ने छैन।

पछिल्लो पटक सुशील कार्कीलाई पक्राउ पर्दा यो ‘केस’ मा पक्राउ परेकाहरूको सङ्ख्या नौ पुगेको छ। उनीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन विपरीत काम गरेको कसुरमा मुद्दा अगाडि बढेको छ।

मणिपाल प्रकरणमा माओवादी निकट चिकित्सक सङ्गठनका नेता डा. दिनेश बि.क. समेत पक्राउ परेका थिए। घटना हुँदाको बखत चिकित्सकको पक्षबाट होहल्ला तथा नाराबाजीमा संलग्न भएका उनलाई प्रहरीले भोलिपल्ट बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीन बहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्माको जिम्मा लगाई छाडेको थियो।

यही प्रकरणमा इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बनमा छन् भने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशी काजमा हेड क्वार्टर  तानिएका छन्।

इन्स्पेक्टर श्रेष्ठले मृतकका आफन्तको भीडमा पुगेर आफूले डाक्टरलाई साफ चुटेको भन्दै अभिव्यक्ति दिएका थिए भने डिएसपी जोशीले आफ्नो जिम्मेवारीको क्षेत्र नै नरहेको पोखरा महानगरपालिका–११ फूलबारीमा रहेको अस्पतालमा पुगेका थिए।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal