(Friday , 10 May,2024)

नेपालले यसरी खेल्नेछ टी-ट्वान्टी विश्वकप !

author

Anonymous

Image 1

काठमाडौं । २०२४ को टी-ट्वान्टी विश्वकपका लागि २० देशले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा सहभागी रहने पन्ध्र देश छनोट भईसकेका छन् । विश्वकपमा सहभागी हुने पाँच देशको भने छनोट हुन बाँकी रहेको छ ।

२०२४ को विश्वकपमा २० देशको सहभागीता रहनेछ । गत वर्ष अष्ट्रेलियामा आयोजना भएको टी-ट्वान्टी विश्वकपमा शीर्ष आठमा पर्न सफल टोली (अष्ट्रेलिया,इंग्ल्यान्ड,भारत,पाकिस्तान,नेदरल्यान्ड,श्रीलंका,न्युजिल्यान्ड र दक्षिण अफ्रिका), आयोजक वेस्ट इन्डिज र अमेरिका तथा १४ नोभेम्बर २०२२ सम्मको आइसीसीको टी-ट्वान्टी अन्तराष्ट्रियको वरीयताका शीर्ष २ टोली ( बंगलादेश र अफगानीस्तान अष्ट्रेलिया विश्वकपको शीर्ष आठमा पछिका दुई टोली जो शीर्ष आठमा अटाएका थिएनन्), युरोप क्षेत्रबाट आयरल्यान्ड र स्कटल्यान्ड र ईष्ट एसिया प्यासेफिकबाट पपुवा न्युगिनी छनोट भई सकेका छन् । 

विभिन्न क्षेत्रिय छनोटबाट अन्य पाँच देशको टुंगो लाग्न बाँकी रहेको छ । यसका लागि विभिन्न क्षेत्रिय छनोट प्रतियोगिताहरु आयोजना हुनेछन् । आइसीसीको नियमअनुसार एसिया क्षेत्रिय छनोटबाट दुई ,अफ्रिकी क्षेत्रबाट दुई र अमेरिका क्षेत्रबाट एक राष्ट्रको छनोट हुनेछ । 

नेपाल कसरी छनोट हुन्छ ?  

नेपालले यस विश्वकपमा छनोट हुन एसिया क्षेत्रको छनोट पार गर्नुपर्ने हुन्छ । एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुदैछ । छनोट प्रतियोगिता कार्तिक १३ बाट २३ गतेसम्म हुदैछ । प्रतियोगितामा आठ देशको सहभागीता रहने छ । प्रतियोगितामा आयोजक नेपाल,युएई,हङकङ,ओमान,सिंगापुर,बहराइन र उप-क्षेत्रिय छनोटबाट आउने दुई राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । 

उप-क्षेत्रिय छनोटमा दुई क्षेत्रको समावेश रहने छ । जुलाईमा मलेसियामा आयोजना भएको क्वालिफायर बी मा आयोजक मलेसियाले एसिया छनोटमा स्थान बनाईसकेको छ । क्वालिफायर ए को प्रतियोगिता सेप्टेम्बरमा कतारमा आयोजना हुदैछ । यस समूहमा आयोजक कतार सहित साउदी अरेविया,कुवेत र माल्दिभ्सको सहभागीता रहेको छ । 

यो उप-क्षेत्रिय छनोटबाट शीर्ष स्थानमा रहने टोलीले आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने एसिया क्षेत्रीय छनोटमा सहभागीता जनाउने छन् । 

छनोटको स्पष्ट फम्र्याट सार्वजनिक नभए पनि युरोप र इष्ट प्यासिफिक छनोट सिंगल राउन्ड रोबिन लिगका आधारमा भएका छन् । त्यसैले यस प्रतियोगिता पनि सोही फम्यार्टमा हुने अनुमान गर्न सकिन्छ । सोही फम्र्याटमा प्रतियोगिता भएमा हरेक टोलीले हरेकसँग खेल खेल्नेछन् । शीर्ष दुईमा रहने राष्ट्रले विश्वकपमा स्थान बनाउँने छन् । 

समूहमा शीर्ष दुईमा रहेमा नेपालले २०२४ को विश्वकपमा स्थान बनाउँने छ ।

नेपालको सम्भावना के रहेको छ ?

२०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकपमा पहिलो पटक सहभागीता जनाएको नेपाललाई दश वर्ष पछि २०२४ मा आयोजना हुने विश्वकपमा सहभागी हुने अवसर रहेको छ । यस छनोट प्रतियोगिताका लागि नेपाली टोलीलाई घरेलु मैदान तथा समर्थक र अन्य धेरै विषयको फाइदा हुनेछ । पछिल्लो केही महिनामा नेपाली टोलीको घरेलु भुमीको प्रदर्शनले नेपाललाई विश्वकपको मन्चमा धेरै समर्थकले देखिसकेका छन् ।

यस छनोट अघि नेपालले एसिया कप र एसियन खेलकुद जस्ता प्रतियोगितामा सहभागीता जनाईसकेको हुनेछ । जसले गर्दा नेपाली टोलीको अनुभवमा समेत केही बदलाब आईसकेको हुनेछ । 

छनोटमा सहभागी मुलुकविरुद्ध नेपालको ईतिहास 

एसिया क्षेत्रीय छनोटमा सहभागी हुने सात मुलुकको टुंगो लागि सकेको छ । यस्तोमा ती मुलुकविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रियको ईतिहास हेर्दा नेपालको प्रदर्शन औसत रहेको छ । हङकङसँग नेपालले कुल पाँच खेल खेलेकोमा दुई खेलमा नेपालले जित हात पारेको छ । तीन खेल भने हङकङले आफ्नो पक्षमा पारेको छ । ओमानसँग नेपालले कुल चार खेल खेलेकोमा तीन खेल नेपालले तथा एक खेल ओमानले जितेको छ । 

सिंगापुरविरुद्ध कुल दुई खेलमा नेपालले एक खेलमा जित दर्ता गर्दा एक खेल हारेको छ । युएईविरुद्ध पाँच खेल खेलेको नेपालले दुई खेलमा जित दर्ता गर्दा तीनमा हार व्यहोरेको छ । बहराइनविरुद्ध भने नेपालले हालसम्म टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको छैन । 

मलेसियासँग भने नेपालले आठ खेल खेल्दा सातमा जित हात पारेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal