(Friday , 10 May,2024)

लगातार दुई खेल हार्दै नेपाल साफ यू-१६ च्याम्पियनसिपबाट बाहिरियो

author

Anonymous

Image 1

२० भदौ, काठमाडौं । भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको छ । जित्नैपर्ने खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

साविक उपविजेता समेत रहेको नेपाल लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको हो । यसअघि पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग १-० ले नै पराजित भएको थियो ।

चाङलिमिथाङ स्टेडियममा बुधबार भएको खेलमा भारतका लागि मोहम्मद अर्सादले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि नेपालले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । भारतले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै खेल जितेको हो ।

दोस्रो हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएको थियो । भारतको दुई प्रहार बारमा लागेर फर्केको थियो । ६ मिनेटको इन्जुरी टाइममा नेपालले पनि गोल फर्काउने राम्रो अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन ।

दुई खेलमा दुई गोल बेहोरेको नेपालले एक गोल पनि गर्न सकेन ।

लगातार दुई खेल जित्दै भारत ससमूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतसँग नेपाल पराजित भएपछि एक जित र एक हारको नतिजा निकालेको बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

समूह बी बाट पाकिस्तान यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ । अब भुटान र माल्दिभ्सबीच हुने खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal