(Saturday , 11 May,2024)

एसियन गेम्सअघि भारोत्तोलन खेलाडीले वर्ल्ड च्याम्पियनसिप खेल्ने

NepalNewsLine

NepalNewsLine

Image 1

२० भाद्र, काठमाडौं - एसियन गेम्सको तयारीमा रहेका भारोत्तोलन खेलाडी त्यसअघि आईडब्लूएफ वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने भएका छन् ।

सेप्टेम्बर २३ देखि अगष्ट ८ सम्म चीनमा हुने एसियन गेम्सका लागि दुई महिनादेखि पोखरामा प्रशिक्षण लिइरहेका विकास भट्ट, विशाल सिंह विष्ट, टीकामाया गुरुङ र शारदा चौधरी र अर्का खेलाडी सागर भण्डारीले वर्ल्ड च्याम्पियनसिपमा भाग लिन लागेका हुन् ।

भदौ १७ देखि ३१ गते ९सेप्टेम्बर ३ देखि १७०  सम्म साउदी अरेबियाको रियादमा हुने वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् ।

भारोत्तोलनको वर्ल्ड च्याम्पियनसिपमा नेपालले १६ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको भारोत्तोलन संघका अध्यक्ष राम बोसलेले बताए । यसअघि सन् २००७ मा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपाली टोलीका प्रशिक्षक जीवन गौतमले आफू र खेलाडीहरु वर्ल्ड च्याम्पियनसिपलाई लिएर उत्साहित रहेको बताए । ‘खेलाडीले जति टुर्नामेन्ट पाउँछ त्यति उसको नलेज बढ्छ । गेममा सुधार हुने चान्स हुन्छ’ उनले भने ।

दुई महिनाको प्रशिक्षणले पदक ल्याउन कठिन हुने भन्दै उनले खेलाडीहरुको प्रदर्शन सुधार हुने आशा राखे ।

खेलाडी विशालले अन्तिम समयमा वर्ल्ड च्याम्पियनसिप जाने थाहा पाउँदा उत्साहित भएको बताए । ‘हामी एसियन गेम्सको तयारीमा थियौँ । क्याम्पमा एक्कासी वर्ल्ड च्याम्पियनसिप जाने कुरा थाहा पाउदा खुशी छौँ’, उनले भने ।

तर भारोत्तोलन शक्ति सञ्चित गर्नुपर्ने खेल भएकाले लगातार दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा केही गाह्रो पनि हुने उनको बुझाइ छ । ‘एक हिसवाले लगातार दुई खेल्नु गाह्रो पनि हो । तर राम्रो के हो भने यसमा केही गल्ती भए एसियन गेम्समा सुधार गर्न सकिन्छ’ उनले भने ।

यसअघि युनिभर्सियाड खेलेकी टीकामायाले नसोचेको अवसर प्राप्त भएको बताइन् । ‘पहिले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता त खेलेको थिएँ । तर त्यो भन्दा यो ठूलो हो । वर्ल्ड च्याम्पियनसिप खेल्ने अहिल्यै सोचेको पनि थिइँन’ उनले खुशी व्यक्त गरिन् ।

यस्तै शारदाले वर्ल्ड च्याम्पियनसिपबाट अनुभव लिने अवसर पाउने बताइन् । ‘हाम्रो लक्ष्य एसियन गेम्स हो । त्यो भन्दा यो खेल्न पाउँदा धेरै अनुभव बटुल्न सकिन्छ । जसले फाइदा हुन्छ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal