(Friday , 10 May,2024)

डेंगुकै कारण यो वर्ष १३ जनाको मृत्यु, २१ हजारभन्दा बढी संक्रमित

NepalNewsLine

NepalNewsLine

Image 1

१६ भाद्र, काठमाडौँ - नेपालमा यो वर्ष हालसम्म डेंगु संक्रमितको संख्या २१ हजार माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार असार १५ देखि हिजोसम्म २१ हजार २०६ जना पुगेको छ। यो दुई महिनामा डेंगुकै कारण हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन्। 

इडीसीडीका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा वर्षा ऋतुमा अगस्ट र सेप्टेम्बर महिनामा डेंगु संक्रमितको संख्या तीव्र बढेको देखिने गरेको छ। यो वर्ष पनि हालसम्म ४ वटा जिल्लामा संक्रमितको संख्या ५ सयभन्दा माथि पुगेर रेड जोनमा पुगिसकेको ईडीसीडीले जनाएको छ। हालसम्म मोरङमा ११ हजार ६५९ जना, सुनसरीमा २ हजार २४२, धादिङमा २ हजार १०१ जना र  झापामा १ हजार ३२३ जना संक्रमित छन्।

यसैगरी काठमाडौंमा हालसम्म ४२७ जना यो वर्ष डेंगु संक्रमित भेटिएका छन्। धकुटामा ३३६,संखुवासभामा २७२ जना, कास्कीमा २६० जना, दार्चुलामा १९४ जना र ललिपुरमा १७४ जनासंक्रमित भेटिएका छन्। यो संख्या यो वर्ष सबैभन्दा धेरै संक्रमित भेटिएका १० वटा जिल्ला हुन्। 

नेपालमा गत वर्षहरूमा डेंगु संक्रमणको बढ्दो प्रवृत्ति हेर्दा अझै एक महिना डेंगु संक्रमण तीव्र बढ्ने देखिन्छ। ईडीसीडीकै विवरण हेर्ने हो पनि गत वर्ष सेप्टेम्बर महिनामा डेंगुका सबैभन्दा धेरै विरामी भेटिएका थिए। गत वर्षको अगस्टमा नेपालमा ३ हजार ७०८ जना संक्रमित भेटिएकोमा यो वर्षको अगस्टमा १३ हजार ३६३ जना संक्रमित भएका छन्। यसैगरी गत वर्ष जुलाईमा ७२० जना संक्रमित भएकोमा यो वर्ष जुलाईमा ६ हजार ६९ जना संक्रमित भए।

ईडीसीले यसअघि नै डेंगु संक्रमण असारदेखि बढ्दै गई भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिसकेको छ। 

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौँ उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो। गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूपमा डेंगु संक्रमण फैलिएको थियो। त्यो वेला ५४ हजार ७८४ जना डेंगुबाट विरामी भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। पछिल्ला वर्षहरूमा वर्षाको समयमा डेंगु संक्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिने गरेको छ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ। ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिन्छ।

अबको एक महिना संक्रमण बढ्ने हुँदा घर बाहिर निस्कँदा पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न र खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र झ्यालढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, घर बाहिर जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal