(Saturday , 11 May,2024)

एन्फासँग ए डिभिजन क्लबहरुको गुनासो

author

Anonymous

Image 1

काठमाडौं । ए डिभिजनका क्लबहरुले आफुसँग गरिएको सम्झौता बेवास्ता गरेको भन्दै अखिल नेपाल फुटबल संघ एन्फासँग गुनासो गरेका छन् । मंगलबार एन्फा हेडक्वार्टरमा पदाधिकारीसँग भेट गर्दै क्लबका अधिकारीहरुले आफुहरुसँग गरिएको प्रतिबद्धता र सम्झौता अनुसार एन्फाले काम नगरेको गुनासो गरेका हुन् । 

एन्फाले सम्झौता अनुसारको तयारी खर्च, दोस्रो चरणको म्याच मनी र पुरस्कार रकम नदिएको क्लबहरुको गुनासो छ । एन्फाको ढिला सुस्तीका कारण आफुहरुलाई गाह्रो परेको क्लबहरुको गुनासो छ । ए डिभिजनका क्लबहरुले प्रतिबद्धता अनुसार एन्फाले रकम उपलब्ध नगराउँदा क्लब चलाउन गाह्रो परेको बताएका थिए । 

‘गत वर्षकै तयारी रकम पाएका छैनौं । यस वर्षको तयारी रकम समेत सम्झौता अनुसार पाएका छैनौं ।’ संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले छलफलमा भने, ‘क्लबसँग गरिएको सम्झौता र प्रतिबद्धता एन्फाले बेवास्ता गरेको महशुश भएको छ ।’

‘एन्फाका कारण क्लबलाई गाह्रो भयो । क्लबले धेरै खेलाडीलाई चेक दिएर पठाएको छ । चेक बाउन्स भैराखेको छ । एन्फाले समयमै पैसा नदिदाँ क्लबको बेईज्जत भैरहेको छ ।’ उनको गुनासो थियो ।

लिगको तयारी खर्च, म्याच मनी र पुरस्कार वापतको रकम नपाएको भन्दै ए डिभिजनका अधिकांश क्लब मंगलबार एन्फा कम्प्लेक्स पुगेका थिए । उनीहरुले महासचिव किरण राई, प्रवक्ता सुरेश साह, सदस्य पुरुषोत्तम थापा सहितका पदाधिकारीसँग भेटेर आफ्नो गुनासो सुनाएका थिए ।

मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घलेले एन्फाले कोशिश गरेको खण्डमा क्लबको समस्या समाधान गर्न सक्ने धारणा राखेका थिए । उनले व्यवस्थापन पक्षलाई सक्रिय र चुस्त बनाएको खण्डमा तयारी वापतको रकम दिन एन्फालाई गाह्रो नहुने बताएका थिए । उनले एन्फाको बेवास्ताको कारण क्लबले समयमै रकम पाउन नसकेको उल्लेख गरेका थिए । 

चर्च ब्वाईजका अध्यक्ष रुविन राईले एन्फाबाट समयमै रकम प्राप्त गर्न नसक्दा खेलाडीसँग क्लबको दरार उत्पन्न हुने समय आएको बताए । उनले एन्फाको ढिला सुस्तीले लिग च्याम्पियन टिमलाई धेरै मर्का परेको बताए । 

‘धेरै खेलाडीलाई चेक दिएर पाठएको छु । लिग च्याम्पियन भएको टिम हो । प्राइज मनि र पुरस्कार राशी नपाएको खेलाडीको चेक बाउन्स हुने सम्भावना हुन्छ । यसले क्लब र खेलाडीबीच दरार आईरहेको छ । पुरस्कारको रकम चाँडो निकासा गरिदिन पर्यो ।’ बैठकमा उनले भने । बैठकमा संकटा, मनाङ, चर्च ब्वाईज सहित मछिन्द्र, फ्रेन्ड्स लगायतका क्लबका पदाधिकारी उपस्थित थिए । 

एन्फा महासचिव किरण राईले क्लबको समस्या समाधानमा एन्फाले पहल गर्ने आश्वासन दिएका थिए । उनले आफु चाँडै फिफा बैठकमा सहभागी हुन दुबई जान लागेको जानकारी गराउँदै नेपालबाट रोकिएका बिल पास गर्ने सन्दर्भमा फिफाका अधिकारीसँग छलफल गर्ने बताएका थिए ।

एन्फाकै कारण आफुहरुले दुख पाएको गुनासो गर्दै ए डिभिजनका क्लबले यसअघि पत्रकार सम्मेलन गरेर विरोध जनाएका थिए । एन्फासँगको सहमतीमा उनीहरुले लिगको दौरान कालो पट्टी बाधेर खेल्ने निर्णय फिर्ता लिएका थिए । तर सहमती अनुसारको रकम एन्फाबाट प्राप्त नभएको भन्दै क्लबहरु आक्रोसित बनेका छन् । उनीहरुले सहमती कार्यान्वयनमा एन्फा गम्भिर नभएको खण्डमा कडा प्रतिकारमा उत्रने चेतावनी एन्फा नेतृत्वलाई दिएका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal