(Friday , 10 May,2024)

नेपाल र वेस्ट इन्डिज भिड्दै

author

Anonymous

Image 1

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इन्डिजसँग खेल्दैछ । 

वेस्ट इन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । 

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो । 

नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो । नेपालले यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा नेपाल रहेको छ । 

पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । 

प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई उपाधिका प्रमुख दाबेदार मानिएको छ । जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आइसीसी विश्वकप लिग टू मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र युएई लिग टू बाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बावे आइसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal