(Friday , 10 May,2024)

रोमालाई पेनाल्टी सुटआउटमा हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि

author

Anonymous

Image 1

१८ जेठ, काठमाडौं । रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पानिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ ।

बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयमको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट पुगेको खेलमा सेभियाले रोमालाई ४-१ ले हरायो ।

सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे । मोन्टिएलले गत डिसेम्बरमा विश्वकप फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको लागि अन्तिम पेनाल्टीसुटमा गोल गरेका थिए ।

रोमाका लागि पहिलो पेनाल्टी प्रहार गरेका ब्राएन क्रिस्टान्टेले मात्र गोल गरे भने जियानलुका मान्सिनी र रोजर एभालेजले गोल गर्न सकेनन् ।


निर्धारित समयमको खेलमा सुरुआती अग्रता भने रोमाले लिएको थियो । तर अग्रता जोगाउन सकेन । ३५औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । तर रोमाकै मान्सिनीले ५५औं मिनेटमा आत्मघाती गोल गरेपछि सेभिया खेलमा फर्केको थियो । त्यसपछि निर्धारित समयमको खेल १(१ कै बराबीसमा सकियो भने ३० मिनेटको अतिरिक्त समयमा थप गोल हुन सकेन ।

सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो । सन् २००६ मा पहिलो पटक युरोपा जितेको सेभियाले त्यसयता २००७, २०१४, २०१५, २०१६ र २०२० मा युरोपा लिगको उपाधि जितेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal