(Friday , 10 May,2024)

म्यानचेस्टर विजयी, चेल्सी रोकियो

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सहज जित हात पार्दा चेल्सी बराबरीमा रोकिएको छ ।
युनाइटेडले घरेलु मैदानमा वल्भ्समाथि २–० को सहज जित हात पारेको हो ।

युनाइटेडको जितमा एन्थोनी मार्सियाल र एलेहान्द्रो गर्नाचोले गोल गरे । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको ३२औ मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले एन्टोनीको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा परिवर्तित खेलाडी गर्नाचोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । ८२औं मिनेटमा जेडान सान्चोको स्थानमा मैदान छिरेका गर्नाचोले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै युनाइटेड ३५ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । समान ६६ अंक नै रहेपनि न्यूक्यासल युनाइटेड गोलअन्तरमा अघि छ । पराजित वल्भ्स ३६ खेलबाट ४० अंक जोडेर १३औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले घरेलु मैदानमा नटिङहम फरेस्टसँग २–२ गोलको बराबरी खेलेको छ । चेल्सीका लागि दुवै गोल रहिम स्टर्लिङले गर्दा नटिङहमका ताइवो एओनियिले पनि दुई गोल गरे ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १३औं मिनेटमा ताइवोको गोलबाट घरेलु टोली चेल्सी खेलमा पछि परेको थियो । ५१औं मिनेटमा रहिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५८औं मिनेटमा रहिमले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । तर, ६२औं मिनेटमा ताइवोले पनि व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै चेल्सी ३५ खेलबाट ४३ अंक जोडेर ११औं स्थानमा छ । नटिङहम ३६ खेलबाट ३४ अंक जोडेर १६औं स्थानमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal