(Friday , 10 May,2024)

सुर्यको शतकमा मुम्बईले गुजरातलाई हरायो

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । सुर्यकुमार यादवको सानदार शतकीय इनिङ्सको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सले गुजरात टाईटन्सलाई पराजित गरेको छ । 

घरेलु मैदान वानखडेमा आइपीएल २०२३ को ५७ औं खेलमा मुम्बईले २७ रनको जित दर्ता गरेको हो । 


मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो ।

गुजरातका लागि राशिद खानले ३२ बलमा ३ चौका र १० छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय ईनिङ्स खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । 

 

डेबिड मिलरले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । विजय शंकरले २९ तथा राहुल तिवातियाले १४ रन बनाए । 

गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका लागि अकाश मधवालले ३ तथा कुमार कार्तिक्य र पीयुष चावलाले समान २र२ विकेट लिए । 

त्यसअघि टस हारेर पहिलो बलिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

मुम्बईका लागि सुर्यकुमार यादवले ४९ बलमा ११ चौका तथा ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले ।

पहिलो आइपीएल शतक बनाएका सुर्याले ईनिङ्सको अन्तिम बलमा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । 

सुरुआत राम्रो रहेको मुम्बईका ओपनरद्वय रोहित शर्मा र इशान किशनले पहिलो विकेटका लागि ३७ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

कप्तान शर्माले १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए । इशानले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाएका थिए ।

नेहाल वाधेराले ७ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए । चौथो विकेटका लागि सुर्याले विष्णु विनोदसँग मिलेर ६५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 

विनोदले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । राशिद खानले गुजरातका लागि ४ ओभरमा ३० रन खर्चिएर ४ विकेट लिए ।

जितसँगै मुम्बईको बाह्र खेलमा १४ अंक सहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । गुजरात भने १६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal