(Saturday , 11 May,2024)

आजबाट मनसुन सकियो 

author

Arpana Bhujel

Image 1

२८ असोज, काठमाडौं - गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो ।

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भू-भागबाट बाहिरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागबाटसमेत मनसुन बाहिरिसकेको छ ।

‘मनसुन पूर्णरुपमा बहिर्गमन हुने अवस्थामा छ”, महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, ‘साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ । आजै मनसुन विशेष बुलेटिन आउनसक्छ ।’

उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ । मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू-भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal