(Friday , 10 May,2024)

सशस्त्रका डीएसपी पौडेलविरुद्धको जाहेरी प्रहरीले लिन मानेन

NepalNewsLine

NepalNewsLine


२३ वैशाख, काठमाडौं - सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक (डीएसपी) पंकज पौडेलविरुद्धको जोहरी प्रहरीले दर्ता गर्न मानेको छैन ।

भक्तपुरको सूर्यविनायक नगरपालिका(२, बालकोटस्थित घर अगाडि छिमेकीसँग भएको जग्गा विवादमा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ दिएको थियो । त्यसपछि पनि छिमेकीसँग विवाद गरेर धम्की दिने गरेको आरोप पौडेलविरुद्ध लागेको छ ।

शुक्रबार घरमा सशस्त्र प्रहरीका केही सादा पोशाकका कर्मचारी समेत ल्याएर आफूहरुको परिवारविरुद्ध कुटपिट गरेको छिमेकी कृष्णभक्त श्रेष्ठको आरोप छ । कुटपिटबाट श्रेष्ठ, उनकी पत्नी, जेठा छोरा किरण र कान्छा छोरा शरण घाइते भएका छन् ।

कुटपिट भएपछि श्रेष्ठ परिवारले नेपाल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेर भक्तपुर इन्टरनेश्नल अस्पताल, लोकन्थली भर्ना गरेको श्रेष्ठ बताउँछन् । अस्पतालमा उनीहरुको उपचार जारी छ ।

घटनापछि श्रेष्ठको परिवार जाहेरी दिन जिल्ला प्रहरी परिसर, भक्तपुर पुगेपनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको कानून व्यवसायी नवराज तिम्सिनाले बताए । उनले भने, ‘कुटपिट भएपछि उहाँले बोलाउनु भएको थियो, जाहेरी दिन जाँदा प्रहरीले आलटाल गर्यो ।’

पछि आफूहरुलाई ढिला गरी प्रहरी वृत्त, ठिमी पठाइएपनि जाहेरी दर्ता नगरी फर्काइदिएको उनले बताए ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले घटनाबारे दुवै पक्षबाट जानकारी आएको र विवाद समेत पुरानो भएकाले प्रहरीले बुझ्ने काम गरिरहेको बताए । ‘मैले डीएसपी सा’बलाई पनि बोलाएको छु, उहाँ आउनु भएपछि दुवै पक्षसँग कुरा गरेर निर्णय गर्छौं’, केसीले भने ।

डीएसपी पौडेलविरुद्ध सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा समेत पटकपटक उजुरी पर्ने गरेको छ । उनी लामो समयदेखि भक्तपुर र काभ्रेमा कार्यरत रहँदै आएका छन् ।

‘जग्गाको विवाद लगायतका घरायसी समस्या देखाएर उहाँ भक्तपुर र काभ्रेमा बस्दै आउनु भएको छ’, सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक अधिकृत भन्छन्, ‘उहाँविरुद्ध यहाँ पनि पटकपटक उजुरी पर्ने गरेको थियो ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal