(Tuesday , 14 May,2024)

एसियाकै धनी अम्बानीले कसलाई बनाउलान रिलायन्सको उत्तराधिकारी ?

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - महिनौंदेखि कर्पोरेट उच्च घरानाको जीवनमा आधारित एम्मी विजेता सिरिज सक्केसनले संसारलाई मोहित पारेको छ । यता भारतमा अर्बौं डलरको भविष्य फैसला गर्ने कर्पोरेट उच्च घरानाको वास्तविक उत्तराधिकारी योजनाको समाचारमा छाइरहेको छ ।

रिलान्यस ग्रुपका मुकेश अम्बानीका तीन सन्तानले अब २२० अर्ब डलर बराबरको कम्पनी सम्हाल्ने भएका हुन् । जुम्ल्याहा ईशा र आकाश तथा अर्का छोरा अनन्तले ग्रुप सम्हाल्ने मुकेश अम्बानीले बताएका छन् । व्यापार हस्तान्तरणबारे अम्बानीले भनेका छन्, ‘अनुभवी नेतृत्व र नयाँ पुस्ताको जोशको संयोजनले रिलायन्सको उपलब्धिको पुस्तिकामा नयाँ अध्याय थप हुनेछ ।’

नयाँ उत्तराधिकारी घोषणा गरे पनि आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैं रहने घोषणा मुकेश अम्बानीले गरेका छन् ।

रिलायन्स ग्रुपको व्यापार धिरूभाइ अम्बानीको तेस्रो पुस्तामा हस्तान्तरण भएको हो । भारतीय कर्पोरेट जगतमा यो निर्णय सबैभन्दा बढी प्रत्यासित थियो । रिलायन्स ग्रुप भारतमा विशाल व्यापार साम्राज्य फैलाएको व्यापारिक घराना हो । तेल, दुरसञ्चार, रसायन, प्रविधि, फेशनदेखि खाद्यान्नसम्म रिलायन्सको लगानी छ । यस व्यापारिक घरानाको भारतमा हजारौं पेट्रोल पम्पहरु छन् ।

रिलायन्स ग्रुपले हात हाल्ने हरेक क्षेत्र भारतमा आकर्षणको केन्द्र बनेको छ । त्यस समूहको नेतृत्वका लागि तयार भएर मुकेश अम्बानीका सन्तानले आफ्नो एक जिम्मेवारी पूरा गरेको चर्चा भइरहेको छ ।

रिलायन्स ग्रुपले साधारण र स्वास्थ्य बीमामा पनि हात हाल्ने तयारी गरेको छ । यस्तै उसले फाइभ–जीमा पनि हात हाल्ने बताएको छ । उसले नवीकरणीय ऊर्जामा लगानी बढाउँदै चिसो पेय पदार्थ क्याम्पा कोलाको विश्वव्यापीकरणको योजना अघि सारेको छ ।

नयाँ व्यापारको अवधारणा तय गर्दै आफ्ना सन्तानलाई त्यसको नेतृत्व सुम्पिनका लागि अम्बानी परिवारले वर्षौंदेखि नै तयारी गरेको परामर्शदाता सन्दिप नेरेल्कर बताउँछन् । ‘अम्बानीका सन्तान भएकै कारण तीन जना उत्तराधिकारीमा चयन भएका होइनन् । उनीहरुलाई यसका लागि वर्षौंदेखि तयार गरिएको थियो । हरेक सन्तानका लागि उनीहरुको दक्षता र क्षमता चिनेर जिम्मेवारी दिइएको छ,’ उनले भने ।

मुकेश अम्बानी तल्लो प्रोफाइलमा बस्न रूचाउने व्यक्ति भए पनि उनका सन्तानले निकै आलिसान जीवनयापन गरे । उनीहरु हबेलीमा हुर्किए । उनीहरु निजी विमानमा सयर गर्छन् ।

आफ्नो बुवा धिरुभाइको व्यापार सम्हाल्नका लागि मुकेशले स्ट्यान्डफोर्डको पढाइ छोडेर फर्किएका थिए । उनका सन्तानले भने यल र ब्राउन विश्वविद्यालय पढेर फर्किएका हुन् । कर्पोरेट कार्यक्रममा उनीहरु सामूहिक रुपमा उपस्थित हुन्छन् । अम्बानीका दुबै छोराले उच्च व्यापारिक घरानाका परिवारसँग वैवाहिक सम्बन्ध गाँसेका छन् । अम्बानी परिवार आलिसान जीवनशैलीका कारण धेरैको नजरमा परेका छन् । उनीहरुको वैवाहिक समारोहदेखि सम्पत्तिका कारण धेरैको नजर यस परिवारमा छ ।

भारतको मुम्बईस्थित मुकेश अम्बानीको अपार्टमेन्ट अगाडि सेक्युरिटी गार्डहरु ।
तर आफ्ना सन्तानले के गर्ने र के नगर्ने भन्ने सीमा राम्रैसँग पढाउँदै अम्बानीले व्यवहारमा उतारेको निरेल्कर बताउँछन् । उनी भन्छन्, ‘अम्बानीका सन्तान अभिभावकले सिकाएको सीमाको परिधिभित्रै जीवन बाँचिरहेका छन् ।’

छोरा–छोरीको संलग्नता

कलेज सकिएसँगै अम्बानीका छोरा आकाश दुरसञ्चार संस्था जियोमा  प्रवेश गरेका थिए । यस्तै उनले खेल व्यवसाय अन्तर्गत मुम्बइ इन्डियन्स पनि हेरिरहेका छन् । मेटासँगको सहकार्यमा सञ्चालन भइरहेको परियोजनामा पनि उनी संलग्न छन् ।

यता ईशाले रिलायन्सको ई–कमर्स सम्हाल्छिन् । उनले आलिसान अनुभवका सेवा बिक्री गर्छिन् । यस्तै उनले फेसनमा पनि हात हालेकी छन् । त्यसको ई–कमर्स मार्फत अन्तर्राष्ट्रिय आलिसान ब्रान्डसँग उनको सहकार्य छ । रिलायन्स ग्रुपको नयाँ पुस्ताको नेतृत्वमा इशा माथिल्लै तहमा छिन् ।

आकाश, अनन्त र ईशा अम्बानी
आफ्नी छोरीबारे मुकेशले भनेका छन्, ‘मेरी छोरी अलि उग्र स्वभावकी पनि छिन् । कतिपय अवस्थामा उनले मलाई आफ्नो व्यापारको क्षेत्रबारे पुनर्विचारका लागि पनि सुझाव दिन्छिन् । वातावरण असाध्यै प्रदूषित गराउने भएकाले रिलायन्सले प्लास्टिक उद्योगबाट हात झिक्नुपर्ने उनको मत छ ।’ ईशा आएसँगै रिलायन्सले आफ्नो लगानी रिटेल र फेशनमा व्यापक बढाएको छ ।

मुकेशका कान्छा छोरा अनन्त रिलान्यसको ऊर्जा व्यापारमा छन् । ऊर्जा अन्तर्गत रिलायन्सले नवीकरणीय उर्जा र सोलारको विकासमा ध्यान केन्द्रित गरेको छ । ब्राउन विश्वविद्यालयबाट अध्ययन सकेका अनन्तले रिलायन्स प्रतिष्ठान पनि सम्हाल्छन् ।

अम्बानी परिवारलाई नजिकबाट नियालीरहेका हिमान्सु राई भन्छन्, ‘समूह अन्तर्गतको सबै व्यापारको नेतृत्वका लागि उत्तराधिकारी चयन गरेर मुकेशले ठीक गरे । यसले पछि हुनसक्ने विवादलाई टारेको छ ।’

विगतमा आफ्नै दाजुभाइ बीचको झगडाबाट पाठ सिक्दै उनले बेलैमा उत्तराधिकारी चयन गरेको निर्लेकर बताउँछन् । ‘कोरानाकालपछि मानिसहरु एउटा विषयमा गम्भीर हुन थाले । उनीहरुलाई जुनसुकै बेला जस्तोसुकै विरामी हुनसक्ने अथवा ज्यान जान सक्ने त्रास वा चेतना कोरोनाकालमा देखापर्यो । त्यसैले मुकेश अम्बानीले आफ्ना सन्तानलाई बेलैमा उत्तराधिकारीका रुपमा तयार बनाउँदै लगे,’ उनले भने ।

रिलायन्सको साम्राज्यमा गौतम अडानीको चुनौती थपिएको समयमा रिलान्यसमा नयाँ नेतृत्व ल्याइएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा अडानी र अम्बानीको व्यवसायिक टक्कर छ । उत्तराधिकारी घोषणा गरेका मुकेशले आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैं रहने घोषणा गर्नुको पछाडि एउटा कारण छ । त्यो केहो भने, उनी आफ्ना सन्तानले सामूहिक निर्णयबाट कम्पनीको छवीलाई अझै वृहत बनाउन चाहन्छन् ।

अम्बानीसँगै असाध्यै राम्रा र अनुभवी कर्मचारी छन् । ती कर्मचारीले भविष्यमा आउने संकट र सम्भावना दुबैबारे मुकेशका सन्ततीलाई जानकारी दिँदै योजना बनाउन सहयोग समेत गर्नेछन् ।

तर तत्कालका लागि आफूले दिएको जिम्मेवारी तीन सन्तानले कसरी सम्हाल्छन् भन्ने कुरा नै अम्बानीका लागि चासो र चिन्ताको विषय छ ।  ‘मुकेशको शेखपछि कसैले न कसैले रिलायन्स हाँक्नैपर्छ । त्यही योजना अन्तर्गत सही नेतृत्व पहिचानका लागि मुकेश लागिपरेका छन् । तत्कालै समूहकै नेतृत्व घोषणा गर्नका लागि उनी हतारोमा छैनन्,’ निर्लेकर भन्छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal