(Monday , 13 May,2024)

विमान दुर्घटनाको ४० दिनपछि  ४ बालबालिका सकुशल भेटिए

NepalNewsLine

NepalNewsLine

Image 1

एजेन्सी - कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् ।

दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एकरएक जना पाइलट र को–पाइलट रहेका थिए । विमानका पाइलटद्वय र यी बालबालिकाको आमाको भने मृत्यु भएको थियो ।

यी बालबालिकाको उमेर १३, ९, ४ र एक वर्ष रहेको रोयटर्सले उल्लेख गरेको छ । राष्ट्रपति पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको बताउनुभयो ।

सिंगल इन्जिनको सेसना–२०६ विमान अमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा इन्जिन फेल भएर गत मे १ मा दुर्घटनाग्रस्त भएको थियो । तीन बालिका र एक बालकका हजुरबुवा नारसिजो मुकुटुवीले उद्धारको समाचार थाहा पाएलगत्तै आफू निकै खुसी भएको रोयटर्सलाई बताएका छन् ।

कोलम्बियाली सेनाले सार्वजनिक गरेको तस्बिरमा सैनिकको समूहले घना जंगलको बीचमा ती बालबालिकालाई भेटेको देखिएको छ । बालबालिकाले जंगलमा आफैंले आफ्नो प्रतिरक्षा गर्दै यतिका दिनसम्म बसेको पनि राष्ट्रपति पेट्रोले जानकारी दिनुभयो ।

उद्धार टोलीले कुकुरको सहायतमा बालबालिकालाई भेटेको हो । उनीहरूले बालबालिकाले खाएर फालेको फलफूलका टुक्राहरू बाटोमा भेटेका समेत थिए ।

उद्धारका लागि कोलम्बियाले सेना र वायु सेनाले हेलिकप्टर र जहाजको समेत सहयोग लिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal