(Monday , 13 May,2024)

 ३ जना नेपाली ग्रिसमा अपहरण गरेर काठमाडौंमा फिरौती माग्ने ४ जना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

८ भाद्र काठमाडौँ - युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा तीन जना नेपाली गत साउन २८ गते अपहरणमा परेका थिए।

मोरङ रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगाका कृष्ण कार्की र काभ्रे नमोबुद्धका राजन सत्याललाई अपहरण गरेर १५ हजार युरो फिरौती मागिएको थियो।  

उनीहरू सिजनल भिसामा सर्विया गएका थिए। त्यहाँको काम चित्त नबुझेपछि लुकिछिपी ग्रिस जान लागेका थिए।

वैदेशिक रोजगारीमा गएका छोराछोरी अपहरणमा परेपछि आमाबुवाले प्रहरी गुहारेका थिए।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार साउन ३२ गते उनीहरूका आफन्तले ब्युरोमा निवेदन दिएका थिए।

‘निवेदन आउनासाथ हामीले इन्टरपोलमार्फत् ग्रिस प्रहरीलाई पनि खबर गरेर विशेष अप्रेशन चलाएका थियौं,’ अधिकारीले भने,‘दुई दिनपछि आफन्तले काठमाडौंमा फिरौती बुझाउनुभयो। केही घन्टापछि अपहरणमा परेकाहरू मुक्त हुनुभयो। लगत्तै हामीले फिरौती बुझ्नेलाई पक्राउ गरेका छौं।’

अपहरणमा परेकाहरूका आफन्तले भदौ २ गते काठमाडौंमा २१ लाख ७५ हजार रुपैयाँ फिरौती बुझाएका थिए। फिरौती बुझेपछि नेपाली समयअनुसार राति ११ बजे अपहरणमा परेकाहरूलाई मुक्त गरिएको थियो।

युरोपमा नेपाली अपहरण गर्ने र काठमाडौंमा फिरौती लिइएको घटना नौलो प्रकृतिको भएको एसपी अधिकारीले बताए।

‘यसमा गिरोहको नै संग्लनता छ कि के छ भन्ने हामी विस्तृत अनुसन्धान गर्दैछौं,’ अधिकारीले भने।

उनका अनुसार सर्वियाबाट ग्रिस जाने बेलामा ती तीन जना नेपालीहरूलाई हिन्दी बोल्ने पाकिस्तानीहरूले अपहरण गरेको देखिएको छ।  

ग्रिसमा अपहरण गरिएको भए पनि फिरौती माग्नेहरू भने नेपाली हुन् र उनीहरूले दुबईबाट परिवारसँग सम्पर्क गरेर फिरौती मागेका थिए।

यसरी फिरौती माग्ने काममा दुबई बस्ने पर्वतका दिलबहादुर थापा र कपिलवस्तुका प्रकाश बेलबासे संग्लन रहेको देखिएको छ।

उनीहरूले काठमाडौंमा धनकुटाका शिवराज कुँवर र तारकेश्वरका रामेश्वर अर्याललाई फिरौती रकम लिन लगाएका थिए।

भदौ २ गते गौरीघाटमा फिरौती रकम लिएका कुँवरलाई प्रहरीले त्यही दिन पक्राउ गरेको थियो।

अर्याललाई ३ गते तारकेश्वरबाट, बेलबासे र थापालाई भदौ ६ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ।

उनीहरूविरूद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

अपहरणमुक्त भएकाहरू अहिले ग्रिसमा एनआरएन अध्यक्षको सम्पर्कमा छन्। उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको छ।

गैरकानुनी रूपमा विदेश जाँदा हुने यस्ता घटनाको अनुसन्धान तथा उद्धार गर्न जटिल हुने भएकाले श्रम स्वीकृति भएका मुलुकहरूमा कानुनी प्रक्रिया पूरा गरेर मात्र जान ब्युरोले आग्रह गरेको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal