(Sunday , 12 May,2024)

देशका विभिन्न सडकहरु पहिरोका कारण अवरुद्ध

NepalNewsLine

NepalNewsLine

Image 1

२८ असार, काठमाडौं - अविरल वर्षाका कारण देशका विभिन्न भागमा सडक मार्गहरु अवरुद्ध भएका छन् ।

पूर्वमा मेची राजमार्ग र तमोर करिडोर पूर्ण रुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । भेरी राजमार्ग अन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम र गणेशचोक–ताप्लेजुङ्ग–ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ ।

पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको विभागले जनाएको छ । यस्तै, तमोर करिडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध रहेको छ ।

यस सडकखण्डको पाँचथरको माझीटार र हेवा खोलामा सडक र पुल भत्किएका कारण अवरुद्ध भएको हो । विभागले देशका १८ वटा सडक अहिले एकतर्फी सञ्चालन रहेको पनि जनाएको छ । संखुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्ग एकतर्फी भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको दाक्लुङ र हिँडीमा आएको समस्याले काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक एकतर्फी भएको सडक विभागले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको हिउदे खोला, दोभान र गउडे पुलमा भएको क्षतिका कारण सडक एकतर्फी भएको छ ।

यस्तै, पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक एकतर्फी खुला छ भने म्याग्दीको नौनीबगर, गुइथे, काभ्रे र बैसरी सडक पनि एकतर्फी चलेका छन् । यता, लमजुङको खरखरे र मनाङको तिमाङमा पहिरो जाँदा डुम्रे–बेशीसहर–चामे सडक पनि एकतर्फी सञ्चालन रहेको विभागले जनाएको छ ।

उता, कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दहीखोला र राप्ती राजमार्ग अन्तर्गत सल्यानको चोरखोलामा पहिरो खसेका कारण सडक एकतर्फी भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal