(Monday , 13 May,2024)

यसपालि बर्खे विपदका लागि १० हजार सुरक्षाकर्मी परिचालन

NepalNewsLine

NepalNewsLine

Image 1

३ असार, काठमाडौँ - यसपालि मनसुनको आरम्भमै बाढी पहिरोले पिरोल्न थालिसकेको छ। यसपटक पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिमितको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८०’ तयार पारेको छ। 

उपप्रधान तगा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा गत जेठ २८ गते बसेको बैठकले कार्ययोजना स्वीकृत गरिसकेको प्राधिकरणले बताएको छ।

यस वर्ष मनसुन नेपालभर फैलनासाथ जोखिम क्षेत्रको बारेमा जानकारी लिन ड्रोन प्रयोग गर्ने प्राधिकरणले जानकारी दियो। त्यस्तै, उद्धारको लागि हेलिकप्टर तयारी हालतमा राखिने प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताए।

‘क्षतिबारे जानकारी लिन ड्रोन प्रयोग गर्ने भएका छौं। उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिन्छ,’ उनले भने, ‘जनधनको रक्षाका लागि स्थानीय तह, प्रदेश, जिल्ला र संघले आवश्यक समन्वय र तयारी गरेको छ।’

उनका अनुसार १४ वटा मन्त्रालयलाई आ–आफ्नो कामको क्षेत्र बाँडफाँट गरेको छ।

गृह, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा जलस्रोत तथा सिँचाइ, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई आ–आफ्नो काम छुट्टयाइएको छ।

यीसँगै शहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सुचना प्रविधिलाई पनि अलगअलग काम तोकिएको प्राधिकरणले बतायो।

विपद् कमान्ड टोली खटाउने, सामग्री भण्डार गर्ने, मानवीय सहायता, खोजी, उद्दार तथा आवश्यक औषधि उपचारको प्रबन्ध गर्ने जिम्मा गृहमन्त्रालयले पाएको छ।

खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालन गरी नेपाली सेनालाई तयारी अवस्थामा राख्ने दायित्व रक्षा मन्त्रालयले पाएको छ।

उसले नागरिकको जिउधनको रक्षा गर्ने, आवश्यकता अनुसार हवाई उद्धारको बन्दोवस्त मिलाउँछ। 

परराष्ट्र मन्त्रालयलाई मित्रराष्ट्रसँग सहयोग जुटाउने, अन्तरदेशीय समन्वयन गर्ने, विपद्का सामग्री ल्याउन सहजीकरण गर्ने, विदेशी नागरिक घाइते वा मृत्युको जानकारी सम्बन्धित मुलुकलाई दिने जिम्मेवारी दिइएको प्राधिकरणको भनाइ छ। 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी तथा पहिरोले भत्किएका र पुरिएका सडक जतिसक्दो चाँडो पन्छाउने, डोजर–हेभी इक्विपमेन्टको विवरण राख्ने, सडक चालु रहे नरहेको सूचना प्रवाह गर्ने, ८७ वटा रणनीतिक स्थान तथा ११८ वटा कार्यालयमा अत्यावश्यक मेसिन र जनशक्ति तैनाथी अवस्थामा राख्ने गरी काम बाँडफाँट गरिएको छ। 

यीबाहेक अन्य मन्त्रालयलाई पनि आफ्नो–आफ्नो जिम्मेवारी दिइएको छ। सम्पूर्ण निकायलाई तम्तयार राख्ने सके क्षति न्यूनीकरण गर्न सकिने पवक्ता खड्काले बताए।

कर्णाली, सुदूरपश्चिमका लागि एक–एकवटा हेलिकप्टर पश्चिम एयरबेस सुर्खेतमा तयारी अवस्थामा राखिने प्राधिकरणले बतायो।

त्यस्तै, कोसी र मधेशका लागि एक–एक वटा हेलिकप्टर इटहरीमा राखिने प्रवक्ता खड्काले बताए।

‘बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश लागि एमआइर१७ स्काइ ट्रक–१  र सानो हेलिकप्टर एयरबेस, काठमाडौं र उपलब्ध भएमा एमआइ १७रस्काइ ट्रक–१ भरतपुरमा राख्ने योजना छ,’ उनले भने। 

सेना र प्रहरीलाई असार १ गतेदेखि आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको छ। 

मनसुनजन्य विपद् न्यूनीकरणकै दागि देशभर १० हजार ४८ जना प्रहरी परिचलान हुने व्यवस्था मिलाइएको छ। प्रहरी आवश्यकता हेरेर थपघट हुने प्राधिकरणको भनाइ छ। 

२०७० देखि २०७९ सालसम्म मनसुनजन्य विपद्बाट ७७९ बेपत्ता भएका छन्। १ हजार  ५ सय ६९ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ। 

बाढी पहिरोका कारण एक दशकमा ८० हजार ४०५ परिवार प्रभावित भएका छन्। तीसँगै १५ हजार ८९३ घर पूर्ण क्षति भएको छ। ४५ हजार ५६२ घरमा आंशिक क्षति पुगेको देखिन्छ। 

एक दशकमा बाढी पहिरोले र भारी वर्षाले १८ अर्ब ५८ करोड ८३ लाख ५२ हजार रूपैयाँ  बराबरको धनमाल नोक्सान भएको प्राधिकरणले जनाएको छ।

बाढीले १६ अर्ब २९ करोड ८४ लाख ६७ हजार र पहिरोले १ अर्ब ७७ करोड ४४ लाख ५४ हजार बराबरको धनमाल नोक्सान पुर्‍याएको छ। भारी वर्षाले ५१ करोड ५४ लाख २९ हजार रूपैयाँ बराबरको क्षति पुर्‍याएको अनुमान छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal