(Monday , 13 May,2024)

मूल सडकको डिजाइन नहुँदै चक्रपथको सर्भिस ट्रयाकको ठेक्का

NepalNewsLine

NepalNewsLine

Image 1

८ जेठ, काठमाडौं - कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तार गर्न चीन सरकारले मूल सडक लेनहरुको विस्तृत डिजाइन तयार नगर्दै सरकारले ‘सर्भिस ट्रयाक’को निर्माण सुरु गरेको छ । यसका कारण भविष्यमा चिनियाँ पक्षले चक्रपथ विस्तारको काम गर्दा फेरि विभिन्न कामका लागि सर्भिस ट्रयाक भत्काउनुपर्ने अवस्था आउने चिन्ता उत्पन्न भएको छ ।

अहिले करिब ६ वटा ठेक्का लगाएर ६० करोडभन्दा बढी लागतमा सर्भिस ट्रयाक निर्माणको काम अघि बढेको छ । यसका कारण भविष्यमा चक्रपथको डिजाइनमा हुनसक्ने त्रुटि सचयाउन समेत नसकिने अवस्था सिर्जना हुनसक्ने सडक विभागकै अधिकारीहरु बताउँछन् ।

सरकारले कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारपछि अब कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तारको काम अघि बढाउन गत ७ मेमा चीन सरकारसँग ‘टेक्निकल कन्फरमेसन फर फिजिबिलिटी स्टडी’ नामको सम्झौता गरेको छ । यसअनुसार चीनले अब आयोजनाको डिजाइन तयार गरेर दिने र त्यसलाई सडक विभागले स्वीकृत गरेपछि चिनियाँ पक्षले विस्तारको काम सुरु गर्ने तयारी छ ।

तर, चिनियाँ पक्षले ५० मिटर ९सडकको मध्यविन्दुबाट २५–२५ मिटर० मा मात्रै काम गर्ने भन्दै सडक विभागबाटे सर्भिस ट्रयाक निर्माणको ठेक्का लगाएर काम सुरु भएको छ । चक्रपथ विस्तार आयोजनाका प्रमुख बाबुराम सापकोटा मुख्य लेन र सर्भिस लेनको काम चीन सरकारले गर्ने र त्यसभन्दा पछिल्लो भागमा उपलब्ध जग्गामा सर्भिस ट्रयाक निर्माणको काम नेपाल सरकारले नै जिम्मेवारी रहेकाले अहिले नै आफ्नो काम सुरु गरिएको बताउँछन् ।

‘डिजाइन चीन सरकारले बनाउँदै छ । हामीले सर्भिस ट्रयाक निर्माणको काम सुरु गरेका छौं,’ उनले भने, ‘घरधनी र अन्य पक्षसँग कुनै विवाद भएपनि हामीले नै सल्टाउँछौं, हामीले छेउ–छेउमा काम गर्दा चिनियाँहरुले बीचको ५० मिटरको भागमा काम गर्न राम्रो वातावरण पाउँछन् ।’

सडक विभागका विकास सहायता महाशाखा प्रुमख विजयकुमार जैसी पनि सर्भिस ट्रयाकको काम गर्दा भविष्यमा भत्काउने जोखिम नहुने दाबी गर्छन् । चीनले काम नगर्ने भागमा अहिले नै काम सुरु गर्दा समयमै काम सकाउन सहयोग पुग्ने उनको तर्क छ ।

‘हाम्रो काम गर्ने शैली अली सुस्त छ, त्यसैले चीनले काम नथालेपनि हामीले काम थालेका छौं,’ उनले भने, ‘यसले चीनले गर्ने डिजाइन र भविष्यमा बीचको लेनमा हुने काममा कुनै असर गर्दैन ।’

बीचको ५० मिटर भागको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने योजना छ । चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो । नेपाल सरकारले साइट उपलब्ध गराउन पूर्वतयारी नसकेको भन्दै काम थाल्न नमानेपछि करिब ५ वर्षदेखि चक्रपथ विस्तारको परियोजना अलमलमा छ ।

सरकारले चक्रपथ विस्तारको काम कलंकीदेखि धोबीखोला ९गोपीकृष्ण०सम्मै गरिदिन चीनलाई आग्रह गर्दै आएको छ । महाराजगञ्जको नारायणगोपाल चोक क्षेत्रमा घरमा मुआब्जा विवाद भएकाले चिनियाँ पक्ष तयार भएको छैन । लामो समयदेखि अल्झिएको यो खण्ड ८ लेनमा विस्तार गर्न चीन सरकारले नै डिजाइन फाइनल भएपछि ठेकेदार छनोट गरेर पठाउनुपर्छ । त्यसपछि मात्रै बीचको भागमा चीनले काम सुरु गर्ने तय छ ।

२ हप्ताअघि मात्रै डिजाइन थाल्न सम्झौता गरेको चीनले ५० मिटर भागको कस्तो डिजाइन बनाउँछ भन्ने निश्चित छैन । चीनले कलंकी– सातदोबाटो–कोटेश्वर खण्डको जस्तै डिजाइनमा दोस्रो खण्ड बनाउन प्रस्ताव गर्दै आएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal