(Tuesday , 14 May,2024)

पशुपतिको विद्युतीय शवदाह गृह तत्काल निशुल्क नहुने

NepalNewsLine

NepalNewsLine

Image 1

३ जेठ, काठमाडौं - पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै निस्शुल्क शव जलाउन नपाइने भएको छ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विद्युतीय शवदाह गृह निस्शुल्क हुने बताएका थिए।

वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन तत्काल नहुने भएको हो।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार शवदाह निस्शुल्क बनाउनुअघि मेसिन थप्नुपर्ने आवश्यकता छ।

‘मेसिन थप गरिएपछि निस्शुल्क गर्ने मन्त्रीज्यूको कुरा हो। निस्शुल्क हुन्छरहुँदैन अहिले नै भन्न सकिँदैन,ʼ उनले भने।

अहिले कोषले शवदाहका लागि ४ वटा मेसिन थप्ने तयारी गरिरहेको छ। कस्ता खालका मेसिन कहाँबाट ल्याउने टुंगो भइसकेको छैन।  

शवदाह गृहमा अहिले भएका ३ मध्ये दुइटा मेसिनले मात्र काम गरिरहेका छन्। अहिलेको भवनमा थप एउटा मेसिन राख्न सकिने भए पनि बाँकी ३ मेसिन राख्न नयाँ भवन बनाउनु पर्नेछ। भवन कहाँ बनाउने भन्ने पनि टुंगो लाग्न बाँकी छ।

‘भर्खर योजना बन्दैछ। नयाँ मेसिन ल्याउन नै एक वर्षजति लाग्छ होला,’ कोषका प्रवक्ता अधिकारीले भने,‘त्यसपछि मात्र शव दाह गर्दा शुल्क लिनेरनलिने निर्णय कोषले गर्छ।’

अहिले पनि विद्युतीय शवदाहमा एकदमै न्यून शुल्क लिइएको उनले बताए।

आर्यघाटका चितामा दाउराले शव जलाउँदा झन्डै १५ हजार रुपैयाँ लाग्छ। विद्युतीय शवदाह गृहमा साढे ५ हजार भए पुग्छ।

‘अहिले पनि न्यूनतम शुल्क राखिएको छ। अझै कम शुल्क राखेर सेवा दिन सक्छौं,ʼ अधिकारीले भने, ‘सरकारले लगानी गरिदिए निस्शुल्क पनि हुनसक्छ।ʼ

पशुपतिमा २०७१ माघमा विद्युतीय शवदाहका लागि दुइटा मेसिन राखिएको थियो। सुरूमा मानिसहरू आफन्तको शव विद्युतीय मेसिनमा जलाउन मान्दैनथे। हिन्दु धर्मालम्बीहरूको धार्मिक आस्था र शव जलाउनै पर्छ धार्मिक मान्यताका कारण त्यतिबेला विद्युतीय मेसिनमा बिरलै शव आउँथे।

अधिकारीका अनुसार केही समयपछि कोषले विद्युतीय शवदाह गृहमा निस्शुल्क शव जलाउन दियो। निस्शुल्क भएपछि आफन्तले फाट्टफुट्ट शवहरू ल्याउन थाले। शव दाउरामा जलाउनै पर्छ भन्ने मान्यतामा पनि मानिसहरू खुला हुँदै गए।

२०७२ देखि  विद्युतीय मेसिनमा शव जलाएको १ हजार १ सय रुपैयाँमा लिन थालियो र

‘सुरूमा दुई वटामात्र मेसिन थिए। ०७८ मा एउटा मेसिन थप गरिएको हो,ʼ अधिकारीले भने, ‘कोरोनाको समयमा मेसिनमा धेरै शव जले।ʼ

कोरोनाको सुरूआती चरणमा आफन्तहरू शव पनि छुन डराउँथे। संक्रमितको मृत्यु भएपछि नेपाली सेनाले प्लास्टिकमा बेरेर ल्याएका शवको अन्त्येष्टि गर्थे।

त्यही क्रममा प्लास्टिकसँगै शव मेसिनमा राख्दा धेरै प्लास्टिक जलेकाले दुई वटा मेसिन बिग्रिएका थिए।

कोषले केही समयअभि एउटा मेसिन मर्मत गर्‍यो। अर्को मेसिन बन्छ कि बन्दैन भन्ने टुंगो छैन। अहिले दुई वटा मेसिनले मात्र काम गरिरहेका छन्।

‘अहिले विद्युतीय शवदाह गृहमा पनि लाइन बस्नुपर्ने अवस्था आइसकेको छ,ʼ अधिकारीले भने।

कम शुल्कसँगै शव छिटो जलेर सकिने भएकाले अचेल धेरै मानिस विद्युतीय शवदाह गृहमै आफन्तको शव जलाउन चाहन्छन्।

दाउरामा शव जलाउँदा ३ देखि ४ घन्टा लाग्छ भने विद्युतमा मेसिनमा ४५ मिनेटमा शव जलिसक्छ। विद्युतीय मेसिनमा अहिले दैनिक ५० वटा शव जलाइन्छ।

विभिन्न ठाउँबाट उपचारका लागि काठमाडौंमा आएका बिरामीको मृत्यु भए धेरैले विद्युतीय शवदाह गृहमै जलाउने गरेको प्रवक्ता अधिकारी बताउँछन्।

‘उपचारमा पैसा सकिएको हुन्छ। सस्तो पर्ने भएपछि यतै जलाउँछन्,’ उनले भने, ‘निस्शुल्क गरे यहाँको भीड थेग्न सकिन्न।’

अहिले पनि आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई कोषले निस्शुल्क शव जलाइदिने गरेको छ। आगामी दिनमा पनि त्यस्तै हुनसक्छ।

‘पैसा छैन भन्दै आउनेलाई पशुपति सेवा उपभोक्ता सहकारी संस्थामार्फत् सहयोग गरिन्छ,’ उनले भने।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal