(Saturday , 23 November,2024)

भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता

NepalNewsLine

NepalNewsLine

Image 1

१८ कार्तिक, काठमाडौँ - सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसक्नुभएको बताएकी हुन् ।

उद्धार, उपचार, राहत र पुनःस्थापनाका सन्दर्भमा सूचना तथा सञ्चारको क्षेत्रबाट कुनै पनि कमी आउन नदिने सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरिन् । सङ्कटको बेलामा आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालबाट सत्य तथ्य सूचना प्रवाह गर्नु सबैको दायित्व रहने स्मरण गराउँदै उहाँले जोखिम मोलेर प्रभावितस्थलबाट रिपोर्टिङ गरिरहेका सम्पूर्ण सञ्चारकर्मीप्रति धन्यवादसहित आभार व्यक्त गरेकी छन् । 

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । मन्त्री शर्माले दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । भूकम्पका कारण केही सञ्चारमाध्यममा समेत क्षति पुग्न गएकामा मन्त्री शर्माले दुःख व्यक्त गरेकी छन् ।

मन्त्रालयले दुःखको यो अवस्थामा मन्त्रालयअन्तर्गतका निकायबाट नियमित र सहुलियतरूपमा सेवा प्रवाह गर्न, सही र सत्यतथ्य सूचना प्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न आग्रह गरेको छ । यस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकसँग छलफल गरी भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै हाल सो क्षेत्रमा सेवा अवरुद्ध नभएको र उप्रान्त आउनसक्ने पराकम्पनबाट सुरक्षित गरी सेवा प्रदायकलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मन्त्री शर्माले जानकारी दिइन् ।

त्यसैगरी आकस्मिक टेलिकम्युनिकेसन क्लष्टर ९इटिसी० लाई सक्रिय बनाई भूकम्प प्रभावित क्षेत्रको दूरसञ्चार सेवाको अवस्था र सेवाप्रवाहलाई थप सहज बनाउने विषयमा मन्त्रालयमा छलफल गरी आवश्यक निर्णय गरिएको छ ।

प्रभावित क्षेत्रमा रहेका पीडित, उद्धारकर्मी र आम नागरिकलाई सहज सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयको आग्रहमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पाँच दिनसम्म टेलिफोन, म्यासेज र डाटा निःशुल्क गर्ने तथा निजी क्षेत्रको सेवा प्रदायक एनसेलले राहत कोषमा रु ५० लाख सहयोग र रु ४० लाखसम्मको कल र डाटा निःशुल्क गर्ने निर्णय गरेकामा धन्यवाद दिइएको छ । - रासस

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal