(Saturday , 11 May,2024)

रूपन्देही देवदहको फोहोर स्थानीयको अवरोधले तीन दिनसम्म उठेन 

NepalNewsLine

NepalNewsLine

Image 1

रूपन्देही - रूपन्देही देवदह नगरपालिकाले फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै डम्पिङ साइटमा स्थानीयले अवरोध गरेका छन्।

नगरपालिकाले डम्पिङ साइटलाई व्यवस्थित नगरेको भन्दै आइतबारदेखि स्थानीयहरूले फोहोर फाल्न दिएका छैनन्। पछिल्लो ६र७ वर्षयता नगरपालिकाले वडा नम्बर ५ र ६ स्थित बुद्ध सामुदायिक वन क्षेत्रमा फोहोर विसर्जन गर्दै आएको छ।

डम्पिङ साइट व्यवस्थित नगर्दा शनिबार फोहोरमा आगलागी भएको थियो। डम्पिङ साइटमा शनिबार दिउँसो लागेको आगलागी नियन्त्रणमा लिन नगरपालिकाले समयमै दमकल पठाउन सकेको थिएन। धुवाँको मुस्लोले देवदह बजार ढाकिएको थियो।  

पहिलेदेखि नै फोहोर विसर्जनलाई व्यवस्थित गर्न आग्रह गर्दा पनि नगरपालिकाले बेवास्ता गर्दै आउँदा स्थानीयको स्वास्थ्यमा नै गम्भीर असर परिरहेको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर रानाले बताए। 

उनका अनुसार यसअघि फोहोरको दुर्गन्ध मात्रै आउने गरेता पनि पछिल्लो समय फोहोरमा आगलागी हुँदा धुवाँको मुस्लोले समस्या थपेको उनको भनाइ छ।

प्लास्टिक जलेको धुवाँले जेष्ठ नागरिक, दम र श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई कठिन बनाएको उनले बताए। 

'आगो लागेको ६/७ घण्टापछि फोहोरको थुप्रोको माथिल्लो तहको आगो निभाइयो," उनले भने, "आगोभित्रैसम्म निभेको छैन, त्यहाँबाट निस्किएको धुवाँले तीन दिनसम्म पनि गाउँ अँध्यारो बनेको छ। यस्तो अवस्थामा फेरि फोहोर लैजान दिँदैनौं।"

नगरपालिकाले दैनिक आधा दर्जन बढी ट्याक्टरमा फोहोर लगेर सामुदायिक वनमा डम्पिङ गर्ने गरेको छ। तर डम्पिङ साइटको सडक मर्मत र डम्पिङ साइटलाई व्यवस्थित बनाउन बेवास्ता गर्दै आएको उनले बताए।

‘सुरूको वर्ष खाडल खन्नको लागि भन्दै नगरपालिकाले दुई(तीन लाख रूपैयाँ उपलब्ध गराएको थियो," उनले भने, "त्यसपछि फोहोर व्यवस्थापनको लागि कुनै पनि रकम छुट्टाइएको छैन, सिंगो नगरभरीको फोहोरको भारी बोकेर आफ्नै स्वास्थ्यलाई हामी जोखिममा राख्न सक्दैनौं।’

नगरपालिकाले फोहोर फाल्दै आएको वनक्षेत्रदेखि एक किलोमिटर दूरीमा एक सयभन्दा बढी परिवारको बसोबास रहेको अध्यक्ष रानाले बताए।

रानाका अनुसार आँधिखोला टोलमा ६० र सगरमाथा टोलमा ४० भन्दा बढी घरपरिवारको बसोबास छ। यसअघि फोहोरको दुर्गन्ध सहँदै आए पनि फोहोरमा भएको आगलागीका कारण श्वास फेर्न नै अप्ठ्यारो भएपछि  स्थानीय आक्रोशित बनेका हुन्।

सगरमाथा टोलमा बस्दै आएका बुद्ध सामुदायिक वनका उपाध्यक्ष समेत रहेका थमन सिंह गुरूङले नगरपालिकाले फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गरेकोले फोहोर रोकेको बताए।

स्थानीयले अवरोध पुर्‍याएपछि तीन दिनदेखि नगरपालिका क्षेत्रको फोहोर उठ्न सकेको छैन। डम्पिङ साइटबाट निस्किने दुर्गन्ध र त्यहाँ लागेको आगोका कारण तीन किलोमिटर टाढा रहेको देवदह खैरेनीमा समेत असर गरिरहेको स्थानीयको भनाइ छ। 

यस्तै, देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले तत्काल समस्या समाधानको लागि स्थानीयसँग छलफल गरिरहेको बताए। "फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले योजना बनाइरहेको छ," उनले भने, "घरबाटै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोरलाई पुर्ने र नकुहिने फोहोरलाई पुनः प्रयोगका लागि बिक्री गर्नेगरी योजना बनाइरहेका छौं।"

नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश डुम्रेले खुला स्थानमा डम्पिङ साइट रहेको र कवाड संकलन गर्नेहरूले फोहोरमा आगो लगाउने गरेको बताए। 

"अब डम्पिङ साइटमा आगलागी हुन नदिन हेरालु राख्ने व्यवस्था मिलाउँछौं," उनले भने, "डम्पिङ साइट व्यवस्थित गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको छ।"

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal