(Saturday , 11 May,2024)

कोशी प्रदेश : तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाउँदै

NepalNewsLine

NepalNewsLine

Image 1

विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरुले जिम्मेवारी पाउने भएका छन् । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् । 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् । 

गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कार्तिक १७ गते माअ‍ोवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए । त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिएका थिए । मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रीहरुलाई जिम्मेवारी दिन नसकेका मुख्यमन्त्री कार्कीले बजेट पारित गरेर जिम्मेवारी दिन लागेका हुन् ।

मन्त्रीहरुलाई विभागीय जिम्मेवारी दिन शुक्रबारनै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई सिफारिस गर्ने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु र मुख्यमन्त्रीबिच बिहीबार भएको बैठकले मन्त्रीहरुलाई जिम्मेवारी दिने सहमति गरेको थियो । तीन मन्त्रीले जिम्मेवारी पाएपनि सरकार विस्तार भने केहि समयपछि मात्र गर्ने सहमति गठबन्धन दलहरुबिच भएको छ ।

तीन मन्त्रीले जिम्मेवारी पाएपनि आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीसँगै छ । बाँकी मन्त्रालयको भागबण्डा र मन्त्रीको नियुक्ति भने प्रदेशसभाको सभामुखको निर्वाचनपछि गर्ने सहमति दलहरुले गरेका छन् ।

सभामुखको निर्वाचन उपसभामुख अस्ट्रेलियाबाट आएपछि अगाडि बढाउनेगरी सरकारले सहजीकरण गर्ने भएको छ । प्रदेशसभाको बैठक मंसिर १९ गतेलाई तोकिएकोले त्यससँगै सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइरहेको सरकारले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal