२ भदौ, गुल्मी । मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।
बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए ।
वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् ।
शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।
प्रतिक्रिया