(Monday , 13 May,2024)

लेबनानमा हमासका शीर्ष नेताको हत्यापछि संघर्ष थप चर्कने चिन्ता

NepalNewsLine

NepalNewsLine

Image 1

बेरुत । राजधानी बेरुतमा गरिएको हमलामा हमासका उपप्रमुखको मृत्युपछि लेबनानले यस घटनामा जिम्मेवारहरूलाई ‘सजाय’ दिने घोषणा गरेको छ । जवाफमा इजरायलले भने उक्त हमला लेबनानमाथिको हमला नभएको स्पष्ट पारेको छ । 

इजरायलका एक प्रवक्ताले भने, ‘हमासको नेतृत्वविरुद्ध गरिएको एक सर्जिकल स्ट्राइकमा सालेह अल–अरुरीको मृत्यु भएको छ ।’ हमासले यस हमलाको कडा आलोचना गरेको छ । हमाससँग निकट मानिएको हिज्बुल्लाहले यसलाई लेबनानको सम्प्रभुतामाथिको हमला करार गरेको छ । यसबिच लेबनानका प्रधानमन्त्रीले इजरायलले आफ्नो देशलाई तान्न खोजेको आरोप लगाएका छन् ।

लेबनानको सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार हमासका उपप्रमुख सालेह अल–अरुरीको मृत्यु बेरुतको दक्षिणमा भएको एक ड्रोन हमलामा भएको हो । हमलामा अरुरीसँग अन्य ६ जनाको मृत्यु भएको खबर छ । यसमा दुईजना हमासका सैन्य कमान्डर थिए भने चार अन्य हमासका सदस्य थिए ।

अरुरी हमासको सशस्त्र कासम ब्रिगेडसँग जोडिएका महत्त्वपूर्ण नेता थिए । उनलाई हमासका प्रमुख इस्माइल हानियाको निकटस्थ सहयोगी मानिन्थ्यो । हिज्बुल्लाह र हमासबिच सम्बन्ध कायम राख्न उनी लेबनानमा थिए ।

इजरायली सरकारका एक प्रवक्ता मार्क रेगेवले घुमाउरो पारामा यस हत्यामा इजरायलको हात रहेको पुष्टि गरे । उनले इजरायली अधिकारीहरूले प्रयोग गर्दै आएको औपचारिक भाषामा टिभी च्यानल एमएसएनबीसीसँग भने, ‘यो घटना जसले पनि घटायो, यो स्पष्ट हुनुपर्छ कि यो लेबनान सरकारमाथि कुनै प्रकारको हमला थिएन । यो कुनै रूपले आतङ्कवादी संगठन हिज्बुल्लाहमाथि पनि हमला थिएन । जसले पनि यो गर्‍यो, उसले हमासको नेतृत्वविरुद्ध सर्जिकल स्ट्राइक गर्‍यो । जसले यो गर्‍यो, उसलाई हमाससँग समस्या थियो, यो स्पष्ट छ ।’

गत ७ अक्टोबरमा इजरायलमाथि भएको हमलापछि गरिएको जवाफी कारबाहीमा मारिने हमासका सदस्यहरूमा सालेह अल–अरुरी सबैभन्दा ठुलो नेता हुन् । अक्टोबर ७ मा गाजापट्टीबाट हमासले इजरायलमा हमला गरेको थियो । संगठनका लडाकुहरू इजरायली सीमामा पसेर त्यहाँका कयौँ गाउँमा हमला गरेका थिए ।

उक्त हमलामा करिब १२ सय इजरायली नागरिकको मृत्यु भएको थियो भने हमासका लडाकुले करिब २४० जनालाई बन्धन बनाएर लगेको थियो । घटनापछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । उसले हमासलाई जरैदेखि निर्मूल नपारेसम्म यो युद्ध समाप्त नहुने बताएको थियो । 

हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार यस युद्धमा हालसम्म २२ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ । यसमा धेरै महिला र बालबालिका रहेका छन् । यस युद्धका दौरान लेबनानबाट इजारायलको सीमा नजिक रहेका सेनामाथि कयौँ पटक रकेट आक्रमण गरिएको छ ।

लेबनानको सरकारी समाचार एजेन्सीले सालेह अल–अरुरीको मृत्यु इजरायलको एक ड्रोन हमालामा भएको बताएको छ । यो हमला बेरुतको दक्षिणमा रहेको दाहिमस्थित हमासको कार्यालयमा भएको थियो ।

दाहिअ लेबनानमा हिज्बुल्लाहको गढ मानिन्छ । हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाले यस हमलालाई आतङ्कवादी कारबाही, लेबनानको सम्प्रभुतामाथि हमला र आफ्नो आक्रामकताको दायरालाई बढाउने प्रयास भएको टिप्पणी गरेका छन् ।

यता हिज्बुल्लाहले यसलाई लेबनानका जनता, उसको सुरक्षा, उसको सम्प्रभुतामाथि गम्भीर हमला मानेको छ । यो निकै प्रतिकात्मक रहेको र यसको राजनीतिक र सुरक्षासम्बन्धी सन्देश रहेको उसको भनाई ।

संगठनले युद्धको मैदान यो निकै गम्भीर घटना भएको पनि बताएको छ । हिज्बुल्लाहले यो अपराधलाई बिना जवाफ र बिना सजाय माफ नगरिने चेतावनी दिएको छ । ‘हाम्रो हात यति बेला ट्रिगरमा रहेको छ,’ संगठनले भनेको छ । उता इरानले अरुरी हत्याकाण्डबाट बिना सर्त प्रतिरोधको थप एक लहर सुरु हुने बताएको छ । 

मंगलबार साँझ इजरायली रक्षा क्याबिनेटको बैठक तय भएको थियो । बैठकमा युद्धपछि गाजाको अवस्थाबारे एक योजना पेस गर्ने कार्यतालिका रहेको थियो । तर पछि बैठकलाई रद्द गरिएको थियो । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसअघि नै हमासको नेता जहाँ भए पनि इजरायले उनीहरूलाई पूर्णरुपमा खतम गर्ने बताएको थियो । इजरायली मिडिया रिपोर्टका अनुसार वेस्ट बैंकमा अरुरीलाई हमासको सैन्य शाखाको आगामी प्रमुखका रूपमा हेरिएको थियो । - बीबीसी

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal