(Sunday , 12 May,2024)

जबालिया शरणार्थी शिविरमा इजरायली लडाकु विमानको आक्रमण जारी

NepalNewsLine

NepalNewsLine

Image 1

तेल अबिब - इजरायली लडाकु विमानले गाजाको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण जारी राखेका छन् ।

आक्रमणमा हमासको प्रति-ट्यांक क्षेप्यास्त्र एकाइ प्रमुख मोहम्मद असार मारिएको इजरायली सेनाले दाबी गरेको छ । जबालिया शरणार्थी शिविरमा मंगलबार र बुधबारको इजरायली आक्रमणमा कम्तिमा १९५ जना मारिएको र १२० बेपत्ता रहेको हमासले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले जबालिया शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमण युद्ध अपराध हुन सक्ने चेतावनी दिएको छ ।

इजरायल हमास युद्ध सुरु भएयता पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको इजिप्टसँगको रफा सीमा नाका हुँदै ४ सयभन्दा बढीले गाजा छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गाजा छाडेर इजिप्ट प्रवेश गर्नेमा अमेरिकी र बेलायतीसहित ११ देशका ३३५ जना विदेशी र ७६ जना घाइते प्यालेस्टिनी भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गहन र अविलम्ब कूटनीतिका कारण सीमानाका खुला गराउन सकिएको बताएका छन् । कतारको मध्यस्थतामा भएको वार्ताद्वारा यो सम्भव भएको जनाइएको छ ।

यसैबीच इरानले गाजामाथि आक्रमण जारी राखिए त्यसको गम्भीर परिणाम हुने चेतावनी दोहोर्याएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भोलि (शुक्रबार) इजरायल र जोर्डनको भ्रमण गर्ने तयारी गरेका छन् ।

इजरायल-हमास युद्ध सुरु भएको आज २७औं दिन हो । यसअवधिमा इजरायलतर्फ १४ सय मारिएका र २३९ जना बन्धकका रुपमा अपहरण गरिएका छन् । गाजातर्फ ८ हजार सात सयभन्दा बढी मारिएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal