(Monday , 13 May,2024)

चिनियाँ जहाजले दक्षिण चीन सागरमा फिलिपिन्सको जहाजलाई दियो ठक्कर 

NepalNewsLine

NepalNewsLine

Image 1

६ कार्तिक, काठमाडौँ - दक्षिण चीन सागरमा फिलिपिन्स र चीनको टकराब दिनदिनै बढ्दै गइरहेको छ । आइतबार दिउँसोको समयमा चीनको तटरक्षकको जहाजले फिलिपिन्सको जहाजलाई जानाजान ठक्कर हानिदिएको छ ।

यस घटनापछि फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको दादागिरी बढ्दै गइरहेको प्रतिक्रिया जनाएको छ भने चीनले फिलिपिन्सका जहाज चिनियाँ जलक्षेत्रमा प्रवेश गरेको र उनीहरुले त्यहाँ अवैध रुपमा गस्ती गरेको बताएको छ ।

केही समय अगाडि पनि चीनको जहाजले दक्षिण चीन सागरमा तैरिरहेको फिलिपिन्सको जहालाई पानीको फोहराले आक्रमण गरेको थियो ।

विवाद

दक्षिण चीन सागर ३५ लाख वर्गकिलोमिटरमा फैलिएको जलक्षेत्र हो । यो सागर समुद्री व्यापारको एउटा प्रमखु जलमार्गको रूपमा परिचित छ । बर्सेनि खर्बौं डलरको कारोबार हुने यस जलक्षेत्र सबैको रणनीतिक चासोको रूपमा रहँदै आएको छ ।

चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्छ । त्यस कारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरू तैनाथ गरेको छ ।

तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरूले चीनको यस कार्यको विरोध गर्ने गरेका छन् । ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, इन्डोनेसिया र भियतनामले पनि यो सागर आफ्नो भएको दाबी गर्छन् ।

अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाका लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ । चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँछ ।

तर, दाबीकर्ता राष्ट्रहरूले अमेरिकाको उपस्थितिलाई स्वागत गरेको अवस्था छ । अन्तर्राष्ट्रिय अदालतले पनि सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो ।

दक्षिण चीन सागरलाई दाबी गर्ने चीनबाहेकका राष्ट्रहरू साथै अमेरिका, जापान, अस्ट्रेलियाले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन् ।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal