(Sunday , 12 May,2024)

आगामी कार्यभार भरतपुरमा उद्यमशिलताको विकास : प्रमुख रेनु दाहाल

NepalNewsLine

NepalNewsLine

Image 1

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताउनुभएको छ ।
भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो ।

महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशिलतामा लाग्ने उहाँको भनाई छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्,उहाँले भन्नुभयो,‘शिक्षा, स्वास्थ्य, पर्यटयन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’

वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताउनुभयो ।
वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो ।

२ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।
यस्तै वागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ ।

एशियाली विकास बैंक÷जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गर्नुभयो ।

भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको बताउनुभयो । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उहाँको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal