(Saturday , 11 May,2024)

कोशी प्रदेश अपडेट : नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, कांग्रेसका केही सांसद नआउने

author

Arpana Bhujel

Image 1

२७ असोज, विराटनगर - कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको थियो ।

गठबन्धनका शीर्ष नेतृत्वको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङ्गले दुवै पक्षका सांसदहरूबाट सनाखत गराउने निर्णय लिएका थिए ।

आफैँले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।

बिहान ८ बजेदेखि नै सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा सनाखतका लागि भेला भएका छन् । शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म सनाखतको समय छुट्याइएको छ ।

कांग्रेसका ४ देखि ५ जना सांसद भने सनाखत नगर्ने तयारीमा रहेको बुझिएको छ । आङोबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका भनिएका कांग्रेसका केही सांसद भने सनाखतमा अनुपस्थित हुने भएका छन् ।

केही सांसद पूर्वनिर्धारित कार्यक्रमका लागि भनेर बाटो लागेका छन् । कोशीमा गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेलगत्तै शेखर पक्षका केदार कार्कीले एमालेसँगको समीकरणमा कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए । उनको पक्षमा एमालेका ३९ सांसदले हस्ताक्षर गरेका छन् ।

आङ्बोले पनि ४७ सांसदसहित बहुमत दाबी गरेकोमा पुरानो हस्ताक्षर कीर्ते गरी बुझाएको भन्दै कार्कीसहित ८ जना सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भएका थिए ।

केन्द्रमा कांग्रेस बैठकमा प्रधानमन्त्री प्रचण्डसमेत सहभागी भएर कांग्रेसबाटै अर्को नाम दिन वा गठबन्धनका उम्मेदवार आङ्बोलाई समर्थन गर्नका लागि गरिएको आग्रह डा. शेखर कोइरालाले मानेका थिएनन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal