(Sunday , 12 May,2024)

नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । लगातार ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से मंगलबार पनि झिनो अंकले घटेको छ । आज नेप्से ०.४० अंकले ओरालो लागेर २०९८.२९ अंकमा पुगेको हो ।

यसअघि गत हप्ताको मंगलबार उच्च अंकले बढेको नेप्से त्यसयता लगातार ओरालो लागिरहेको छ । गत मंगलबार ५४.५४ अंकले नेप्से बढ्दा ८ अर्बभन्दा बढीको कारोबार भएको थियो । त्यसयता बजार लगातार ओरालो लागेको हो ।

गत बुधबार नेप्सेमा उच्च कारोबार भए पनि बजार घटेको थियो । बुधबार ९ अर्ब ७६ करोडभन्दा बढीको कारोबार भएको थियो । उच्च कारोबार भए पनि बुधबारदेखि नेप्से परिसूचक लगातार घटिरहेको छ । उक्त दिन १२.१० अंकले नेप्से ओरालो लागेको थियो ।

त्यस्तै गत बिहीबार पनि नेप्से ७.२४ अंकले घटेको थियो । उक्त दिन ८ अर्ब १७ करोडभन्दा बढीको शेयर किनबेच भएको थियो ।

बुधबारदेखि ओरालो लागेको बजार यो हप्ता पनि लगातार घटिरहेको छ । यसै हप्ताको आइतबार र सोमबार पनि नेप्से घटेको थियो । आइतबार २५.६३ अंकले बजार घट्दा ७ अर्ब ६७ करोडको शेयर किनबेच भएको थियो । त्यस्तै सोमबार पनि ३१.४९ अंकले नेप्से परिसूचक घटेकोमा ६ अर्ब ३६ करोडको शेयर किनबेच भयो ।

आज पनि ०.४० अंकले नेप्से परिसूचक घट्दा कारोबार रकम पनि घटेर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार पुगेको छ । आज १ करोड १८ लाख १ हजारकित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएकामध्ये १०३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १३७ कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् ।

नेप्से घटेसँगै आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ३८१.१७ बिन्दुमा पुगेको छ । आज १३ वटा उपसमूहका सूचकमध्ये ६ वटाको सूचक बढेको छ भने ७ वटाको घटेको छ । आज होटेल एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक ४.७४ प्रतिशतले बढ्दा ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ०.८६ प्रतिशतले घटेको छ ।

मंगलबार चन्द्रागिरी हिल्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल ल्युब आयल लिमिटेडको ९.९९, एनएमबी माइक्रोफाइनान्स ९.९२, तेह्रथुम पावर कम्पनीको ९.८८, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य ७.२१ प्रतिशतले बढेको छ ।

आज मिड सोलु हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.२० प्रतिशतले घटेको छ । त्यस्तै गुराँस लघुवित्तको ५.९०, अपर साङ्गे हाइड्रोको ४.८४, आशा लघुवित्तको ४.६७, लक्ष्मी इक्विटी फण्डको शेयर मूल्य ४.३२ प्रतिशतले घटेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कारोबार रकमका आधारमा अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, ङादी ग्रुप र सोनापुर मिनरल्स एन्ड आयल क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal