(Sunday , 12 May,2024)

१३ दिनमा ६० प्रतिशतले बढ्यो प्याजको होलसेल मूल्य, खुद्रा दोब्बर

NepalNewsLine

NepalNewsLine

Image 1

१३ कात्तिक, काठमाडौं - असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा अधिकतम् १ सय २० रुपैयाँसम्म पुग्यो । अर्थात्, गएको १३ दिनमै प्याजको मूल्य ४४ रुपैयाँ अर्थात् ६० प्रतिशतले बढेको छ । होलसेलमै ६० प्रतिशतसम्म मूल्य बढेपछि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य दोब्बरसम्म पुगेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा खपत हुने अधिकांश प्याज भारतबाट आयात हुन्छ । भारतमा नै प्याजको मूल्य बढेको तथा प्रतिटन ८०० अमेरिकी डलर (प्रतिकिलो १ सय ५ रुपैयाँ) भन्दा कममा निर्यात गर्न नपाइने व्यवस्था लागु गरेपछि नेपाली बजारमा प्याजको मूल्य बढेको व्यवसायीहरुले दाबी गरेका छन् । तर, भारतले शनिबार मात्रै प्याजको निर्यातमा न्यूनतम मूल्य तय गरे पनि नेपालमा भने यसको मूल्य १३ दिनअघिदेखि नै आकाशिन थालेको हो ।

अझ भारतको निर्याणअघि प्रतिकिलो १ सय २ रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्यमा दुई दिनमा नै १८ रुपैयाँको बढोत्तरी भएको छ । जबकि, त्यो व्यवस्थापछि भारतबाट आयात भएको प्याज बजारमा आएकै छैन । तर, पहिल्यै आयात भएको वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरिनु कालोबजारी र उपभोक्ता माथिको अपराध भएको भन्दै अधिकारकर्मीहरुले सरकारलाई प्रभावकारी बजार अनुगमन गर्न माग गरेका छन् ।

तर, कृत्रिम भन्डारण गरेर मूल्य बढाएको भन्ने आरोप व्यवसायीहरुले अस्वीकार गरेका छन् । भारतमा मूल्य उच्च भइरहेको र निर्यातमा पनि निश्चित रकमको सीमा तोकिदिएपछि नेपाली बजार प्रभावित बनेको कृषि उपज आलु प्याज आयात निर्यात थोक बिक्री संघका महासचिव प्रकाश गजुरेलले बताए । ‘भारतमै खरिद गर्दा प्याजको प्रतिकिलो मूल्य १०७ रुपैयाँजति पर्छ,’ उनले भने, ‘नेपाल ल्याई पुर्‍याउँदा १२० रुपैयाँ पर्छ, त्यसैले मूल्यवृद्धि हुनु स्वाभाविक नै हो ।’

नेपालमा करिब १५० जना व्यवसायीहरुले प्याज आयात गर्ने गरेका छन् । चालु आर्थिक वर्षको ३ महिना (असोजसम्म) भारतबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ३२ हजार मेट्रिक टन प्याज आयात गरेको छ । नेपालले वार्षिक ५ अर्ब बढीको प्याज भारतबाट आयात गरेर आफ्नो आवश्यकता पूरा गरिरहेको छ ।

के हो प्याजमा भारत सरकारको नयाँ नीति ?

गत शनिबार भारतको वाणिज्य व्यापार मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार महानिर्देशनालयले सुकेको प्याज निर्यातमा कडाई गर्न एक सूचना जारी गरेको छ । त्यसअनुसार भारतमा उत्पादन हुने बैंकलोर रोज र कृष्णपुरम जातको सुकेको प्याजको निर्यात मूल्य न्यूनतम ८ सय अमेरिकी डलर प्रतिमेट्रिकटन हुनु पर्ने उल्लेख छ । यो नियम आगामी डिसेम्बर अन्तिम (पुस दोस्रो साता ) सम्म कायम रहने छ ।

आन्तरिक बजारमा प्याजको मूल्यमा भएको वृद्धि र यसले उपभोक्तामा पर्ने महँगी नियान्त्रण गर्न भारतले प्याजको निर्यातलाई थप महँगो बनाएको भारतीय सञ्चार माध्यमको दाबी छ । पछिल्लो २ सातायाता भारतीय बजारमा प्याजको मूल्य १६ प्रतिशतसम्मले बढेर भारु ८० रुपैयाँ ९१ सय २८ नेपाली रुपैयाँ० प्रतिकिलोसम्म पुगेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

यसरी भारतको आन्तरिक बजार मात्रै होइन, निर्यातमा पनि उच्च मूल्यवृद्धि भएपछि असोज अन्तिमसम्म बजारमा खुद्रा बजारमा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा पाइने भारतीय सुकेको प्याजको मूल्य अहिले १३० देखि १६० रुपैयाँसम्म पुगेको छ ।

भारतीय बजारमा प्याजको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । ‘प्याजमा भारतमा निर्भर हाम्रा लागि स्वाभाविक रुपमा सो मूल्यले असर गर्छ । मूल्य महँगो भएका कारण बजारमा प्याजको आयात नै कम भएको छ,’ उनले भने ।

असोजसम्म दैनिक करिब एक लाख ७० हजार किलो हाराहारी प्याज आयात हुने गरेकोमा कात्तिक लागेपछि प्याजको आयात आधाभन्दा धेरैले घटेको उनले बताए । अहिले दैनिक ६० हजार किलो हाराहारी मात्रै प्याज आयात भइरहेको श्रेष्ठको भनाइ छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal