३ असार, काठमाडौं - साताको सुरुकै दिन शेयर बजार परिसूचकले हाफ सेन्चुरी हान्दा नेप्से २१ सय नजिक पुगेको छ ।
कारोबार पनि ५ अर्ब नजिक पुगेको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ५२ अंकले उकालो लागेर २ हजार ९४ कायम भएर थामिएको हो ।
बजेटमा गरिएको करको समस्या सुल्झिनु, तरलता सहज हुँदै जानु र ब्याजदर पनि घट्दैगएसंगै लगानीकर्तामा उत्साह बढेको विश्लेषण गरिएको छ । आइतबार मात्र बाणिज्य बैंक समूह नगन्य अंकले रातो रहेबाहेक बाँकी सबै समूहमा हरियाली छायो ।
जीवन बीमा, होटल तथा पर्यटन समूहमा ६ प्रतिशतमाथिको वृृद्धि आयो । निजीवन बीमा समूह पनि साढें ४ प्रतिशतले उकालो लाग्दा जलविद्युत समूह पनि ४ प्रतिशतले बढ्यो । व्यापार समूह पनि साढें ३ प्रतिशले उक्लिंदा बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८० कम्पनीको १ करोड २१ लाख कित्ता बराबर शेयर ४ अर्ब ८७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन १ सय ९० कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको घट्यो । आइतबार दर्जन बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
प्रतिक्रिया