(Friday , 10 May,2024)

धरौटी बुझाएर छुटे दिपेश पुन

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । सहकारी प्रकरणमा मुछिएर थुनामा परेका का दीपेश पुन धरौटीमा रिहा भएका छन । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् । 

यस अघि सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा थुनामा रहेका विद्यार्थी नेता दीपेशकुमार पुनले आफूले सहकारीका सचिव पदबाट पहिले नै राजीनामा दिएको बयान दिएका थिए । आफूले थाहै नपाई सचिव बनाएको जिकिर गरेका थिए । उनले २०७६ साल फागुन महिनामा उनको कुनै संस्था प्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको बताएका थिए । 

अनुसन्धानको क्रममा भने उनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की बापत ३ लाख लिएको भेटिएको थियो । तर, पुनले पेस्की भौचरमा भएको दस्तखत आफ्नो नभएको जिकिर गरेका थिए । पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन सहित २८ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारीको मुद्दा रुपन्देही जिल्ला अदालतमा दर्ता गरिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका ४ जना भने यस अघि नै धरौटी बुझाएर रिहा भैसकेका छन् । वैषाख ७ गत्ते न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले रुपन्देही जिल्ला अदालतको थुनछेक आदेशअनुसार दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापा मगर र रोशनी गुरुङ धरौटीमा रिहा भएका हुन् । 

तर, अदालतबाट माग भएबमोजिमको दीपेश कुमार पुन र नवीन अछामीले भने धरौटी नबुझाएपछि थुनामै रहेका थिए । अदालतले पुन र अछामीसँग क्रमशः ४ लाख र १० लाख धरौटी माग गरेको थियो । रिहा भएकाहरु पाण्डेसँग १८ लाख, न्यौपानेसँग ४ लाख ४५ हजार, थापा मगर र गुरुङसँग २–२ लाख रुपैयाँ धरौटी माग भएको थियो 

न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको थियो । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबीले दाबी गरेको छ । यद्यपि, प्रहरी प्रधान कार्यालय स्रोतले भने पुनले आफैं हाजिर हुने बताएकाले उनलाई तत्काल नियन्त्रणमा नलिइएको दाबी गरेको छ  ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal