(Tuesday , 30 April,2024)

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

NepalNewsLine

NepalNewsLine

Image 1

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।

बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दै उनले प्रदेशको विकास र समृद्धिका लागि अब बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताए ।

चौधरीको राजीनामासंगै नयाँ सरकार गठनको बाटो खुलेको छ । गठबन्धनको भागबण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटेको छ ।

माओवादी केन्द्र लुम्बिनीका दल नेता जोखबहादुर महराले भोलि नै शपथ लिने गरी तयारीमा लागेका छन् । यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा करिब तीन महिना अर्थमन्त्री बनेका थिए ।

नयाँ गठबन्धनले सरकारको नेतृत्वका लागि अन्य साना दलहरुसँगको छलफल गरी भागबण्डा लगाइसकेको स्रोतको दावी छ ।

सत्ता साझेदार दलहरु नेकपा एमाले, माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच लिखित समझदारीपत्र तयार भएको  र बिहीबार नै हस्ताक्षर गर्ने स्रोतको भनाइ छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal