(Saturday , 11 May,2024)

विभिन्न स्थानबाट अवैध लागु औषधसहित १२ जना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार रूपन्देहीको शुद्धोधन गाउँपालिका १ सिसै चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय आकाश पटवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै मोरङको विराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर करिब ४२ मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका ६ बस्ने २९ वर्षीय नारायण प्रसाद चम्लागाई र सोही ठाउँ बस्ने २९ वर्षीय दल बहादुर राई रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ३ प १५९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका १ झरनासागर टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पिलिभित टाटरगञ्ज बस्ने २८ वर्षीय इरफान अली र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले यूके ०६ एएल २१२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट नियन्त्रित लागुऔषध डाइजेपाम ७ एम्पुल, फेनारगन १७ एम्पुल र नुर्फिन ४ एम्पुलसहित भारत विहार पश्चिम चम्पारन छोटीपट्टी गाउँ ८ बस्ने ३० वर्षीय मनोज चौधरी समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको पिबि १० सि ००१०९ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ बेरीयाघाटबाट अवैध लागुऔषध गाँजा करिब १ किलोसहित सोही नगरपालिका १४ रमपुरटोल बस्ने ४० वर्षीय शिवराम मुखियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपलिका ४ स्थित बसपार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका ४ डेरा गरी बस्ने २५ वर्षीय शुसान्त शाहीसमेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal