(Saturday , 11 May,2024)

नेपाल र भारतले भोलि ३ वटा प्रसारण लाइन संयुक्त रुपमा उद्घाटन गर्ने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री एनपी साउदले भोलि १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । विदेशमन्त्री जयशंकर भोलिदेखि नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदैछन् ।

सोही क्रममा दुवै देशका मन्त्रीले तीनवटा प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।   स्रोतकाअनुसार दुई मन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन् । 

त्यस्तै दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ । भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । 

यता नेपाल भारतबिच मध्यकालीन र दीर्घकालीन ऊर्जाको विषयमा छलफल गर्न भारतको ऊर्जा मन्त्रालयका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।   नेपाल–भारत ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय सो बैठकले इनर्जी बैंक बनाउने बारेमा सहमति खोज्ने प्रयास हुने स्रोतले जनाएको छ ।

सो बैंक बनाउने सहमति भयो भने त्यसलाई पुस २०–२१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइने छ ।  भोलि हुने संयुक्त आयोगको बैठकमा दुवै देशबिच वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सह सचिवस्तरीय समिति बनाउने विषयमा छलफल हुने बताइएको छ । 

त्यस्तै बैठकमा नेपालले कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारेज गरेर भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ । भारतबाट नेपालमा आयात हुने कृषि उत्पादनका वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्युटी लगाउन सक्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ । 

नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनुपर्ने प्रस्ताव पनि नेपालले गर्ने स्रोतको दाबी छ । त्यस्तै, ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।  

भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको ‘एन्टी डम्पिङ’ ड्युटी हटाउनुपर्ने प्रस्ताव पनि नेपालको तर्फबाट आउने भएको छ । नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनुपर्ने प्रस्तावमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको इन्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि दुवै देशको प्राविधिक टोलीले छलफल गर्ने र त्यसको बैठकका लागि पनि मिति तय हुनेछ । तेस्रो देशका एयरलाइन्सहरूका लागि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न नयाँ एयर रूटका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बैठकमा प्रस्ताव गर्ने बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरहरूमा सीधा उडानका लागि अनुमति दिने पनि संस्कृति मन्त्रालयले प्रस्ताव गर्ने बताइएको छ । नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्लीसहित अन्य शहरहरूको उडानका बारेमा पनि छलफल हुने बताइएको छ ।

त्यसैगरी बैठकमा बुद्ध एयरलाई भारतका पटना, लखनउ, गया, देहरादुनलगायतका शहरमा सिधा हवाई उडानको अनुमति दिन समेत भारतलाई आग्रह गरिने बताइएको छ ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal