(Saturday , 11 May,2024)

राहुल महरालाई सुन तस्करी छानबिन समितिले बयानका लागि बोलायो

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।

कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।

भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता गराएको थियो । त्यतिन्जेलसम्म यसमा महराको नाम मुछिएको थिएन ।

तर, अदालतमा दायर अभियोग पत्रमा पूर्वसभामुख महरा र उनका पुत्र राहुलको नाम समावेश भएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि सरकार समक्ष दबाब बढेको थियो । यसअघि छानबिनका लागि पर्याप्त आधार नभएको भन्दै सीआईबीले महरा बाबु–छोरालाई छानबिनको दायरामा ल्याएको थिएन ।

दोस्रो पटक भएको अनुसन्धानपछि महरा पुत्र राहुलले सुनसहितको भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेर अधिकारीहरुलाई पटक–पटक दबाब दिएको खुलेको थियो । २६ असोजमा उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

राहुल र तस्करी समूहमा संलग्न चिनियाँ नागरिकहरुको फोन सम्पर्कको विश्लेषण (कल डिटेल रेकर्ड),  भन्सार कर्मचारीहरुको बयान लगायतलाई आधार मान्दै अदालतले राहुललाई तत्काल निर्दोष भन्न नमिल्ने देखिएको भन्दै थुनामा पठाउने आदेश गरेको थियो ।

उच्चस्तरीय समिति स्रोतका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद ६० किलो सुन प्रकरणका नेपाली आरोपीहरुको बयान समेत यसअघि भइसकेको छ । चिनियाँ नागरिकहरुको भने बयान बाँकी छ ।

सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले ६० किलो सुन प्रकरण,  भेपमार्फत भएको तस्करीसहित अरु सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको समितिका एक सदस्यले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal