(Sunday , 12 May,2024)

भुटानी शरणार्थीसम्बन्धी निवेदन शुक्रबार आदेश आउने गरी हेर्दाहेर्दैमा

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ करिबकरिब सकिएको छ । शुक्रबार खाजा समय अगाडि सबै बहस सकाएर साँझसम्म आदेश आउने सम्भावना रहेको छ । 

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टकाअनुसार उक्त निवेदनमाथि बुधबार साँझसम्ममा निवेदक प्रतिवादीका कानुन व्यवसायी तथा विपक्षी नेपाल सरकारको तर्फबाट बहस सकिएको थियो । बिहीबार निवेदकहरुका तर्फबाट जवाफी बहस भई साँझसम्म सकाउने भनिए पनि केही कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेकाले शुक्रबार खाजा समय अगाडि सबैको जवाफी बहस सकाउने तयारी भएको छ । 

खाजा समय अगाडि जवाफी बहस सकिएमा शुक्रबार साँझसम्ममा उक्त निवेदनका सम्बन्धमा आदेश आउनसक्ने अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगिएकाहरूको जाहेरीका आधारमा नेपाल सरकारले पूर्व विशिष्ट व्यक्तिहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको थियो । 

काठमाडौँ जिल्ला अदालतमा दायर उक्त मुद्दामा अदालतले अभियुक्तहरू तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको थियो । सोही आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका व्यक्तिहरू उच्च अदालत पुगेका थिए । 

मंसिर ५ गतेदेखि निरन्तर सुनुवाइमा राखिएको उक्त निवेदनमाथि शुक्रबार आदेश गर्ने तयारी भएको हो ।  तत्कालीन गृहमन्त्री खाँण, पूर्व उपप्रधानमन्त्री  रायमाझीसहित नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा।ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको रहेको हुँदा उक्त आदेश बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए । 

काठमाडौँ जिल्ला अदालतमा ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।  रिट निवेदकसमेत रहेका प्रतिवादीहरुका तर्फबाट करिब ६० जनाले बहस गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal