(Saturday , 11 May,2024)

माइतीघरमा निषेधाज्ञा लगाउने प्रशासनको तयारी

NepalNewsLine

NepalNewsLine

Image 1

३ मंसिर,काठमाडौँ - दुर्गा प्रसाईंले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा मंसिर ७ मा काठमाडौँमा हुने भनिएको प्रदर्शनबारे आम चासो छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरिरहेको छ । 

नेकपा (एमाले) निकट युवा संघको अध्यक्ष क्षितिज थेवे हुन् । तर, मंसिर ७ मा हुने भनिएको शक्ति प्रदर्शनको कमाण्ड चाहिँ पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले गर्ने भएका छन् । प्रदर्शनमा पार्टीको ‘समर्थन’ रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै उद्घोष गरेका छन् । 

दुवै समूहले काठमाडौँको माइतीघरमा शक्ति प्रदर्शन गर्ने सार्वजनिक रुपमा घोषणा गरेका छन् । दुर्गा प्रसाईँ र युवा संघ माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै छलफल सुरु गरेको छ । 

आइतबार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुखहरु र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापासँग त्यसबारे छलफल थालेका हुन् । 

शान्तिपूर्ण प्रदर्शन र कार्यक्रम गर्नुअघि कार्यक्रमबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । स्थानीय प्रशासन ऐन–२०२८ अनुसार सार्वजनिक कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारीकारीबाट स्वीकृति लिनुपर्छ । दुर्गा प्रसाईं नेतृत्वको समूहले कार्यक्रमबारे हालसम्म जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको छैन ।

युवा संघले चाहिँ मंसिर ७ मा माइतीघरमा प्रदर्शनका लागि अनुमति मागेका छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भन्छन्,‘युवा संघबाट माग आएको छ, अर्को पक्षबाट माग नआएको हुनाले हामी समन्वय गर्दै छौँ ।’

आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुने बारे छलफल भएको छ । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ७ मंसिरबाट १५ दिनसम्म माइतिघर हुँदै नयाँ बानेश्वरसम्म निषेधाज्ञा लगाउने गृह प्रशासनको तयारी छ । स्थानीय प्रशासन ऐन–२०२८ अनुसार निषेधाज्ञा लगाउने र निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । 

‘निषेधाज्ञा’ उल्लंघन गरेमा १ महिना कैद र १ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । स्थानीय प्रशासन ऐनमा भनिएको छ,‘कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भङ्ग हुने जाने देखिएमा परिस्थितिको बिचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी सो ठाउँमा कसैले आवत जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न नपाउने गरी कफ्र्यु लगाउन आदेश जारी गर्न सक्नेछन् ।’ 

एउटै मितिमा एकै ठाउँमा दुई समूहको कार्यक्रम हुन नसक्ने बताउँछन् काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ।बस्नेतले भने,‘त्यसमा समन्वय गरेर उपयुक्त स्थान तोकेर कार्यक्रम गर्न दिने र आवश्यक सुरक्षा व्यवस्था मिलाउने बारे हामी छलफल गरिरहेका छौँ ।’ 

हिंसात्मक र ध्वंसात्मक गतिविधि गर्न नदिने उल्लेख गर्दै बस्नेतले भने,‘हामी दुवै पक्षलाई त्यसबारे भन्छौँ ।’  दुर्गा प्रसाईंले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आकलन सुरक्षा निकायले गरेको छ । युवा संघले १५ हजार मानिस उतार्ने आकलन गरिएको छ । फरक समूहका हजारौं मानिस एकैठाउँमा भेला हुन दिएमा ‘झडप’ हुनसक्ने भन्दै फरक स्थान तोक्नेबारे गृह मन्त्रालयमा छलफल भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal