(Saturday , 11 May,2024)

प्रधानमन्त्री प्रचण्डको दशैँ शुभकामना सन्देश

author

Arpana Bhujel

Image 1

४ कार्तिक,काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँको अवसरमा शुभकामना दिँदै आफूहरूलाई पछाडि फर्कने वा यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन् ।

शनिबार बिहान एक भिडिओ सन्देशमार्फत् शुभकामना व्यक्त गर्दै उनले मुलुक अहिले अवसर र चुनौतीको कठिन परिस्थितिबाट गुज्रिरहेको बताएका छन् ।

‘लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती मुलुकका सामु रहेको छ’, प्रचण्डले भनेका छन् ।

प्रधानमन्त्रीले भने, ‘हामीले नेपाली विशेषता र मौलिकताको सम्बर्द्धन एवं विकास गरेर ज्ञान, विज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौं । यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको छ ।

यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश समाज र संस्कृतिलाई थप समुन्नत तुल्याइ राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो ।’

जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान सकारात्मक र सृजनात्मक सोचको विकास हुनुपर्ने उनको जोड छ ।

‘जात, वर्ग, धर्म, लिंग, वर्ण, भूगोल, आस्था र साम्प्रदायिक सोचबाट माथि उठेर गरे हुन्छ, परिवर्तन सम्भव छ भन्ने सामुहिक र सकारात्मक चिन्तन अहिलेको आवश्यकता हो,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्रीले अर्थतन्त्रमा परेको दबाब, विकासका परम्परागत शैली, संरचना र प्रणालीको अवरोध राष्ट्र निर्माणमा राष्ट्रिय एकताको भावनालगायतका चुनौती देशका सामु रहेको औंल्याएका छन् ।

उनले थपे, ‘तर, हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सक्यौं भने हामी हरेक अवरोधलाई छिचोल्न सक्छौं । यही तथ्यलाई आत्मसात् गर्न सके सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal