(Saturday , 22 June,2024)

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई काठमाडौं ल्याउँदै गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनी अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकोमध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४० करोड छ ।

सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठूलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको हो ।

सहकारी सञ्चालकहरूका अनुसार ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक हो । २०५३ सालमा खुलेको कान्तिपुर सहकारीमा २४ वर्षसम्म सीबी अध्यक्ष थिए । उनले सञ्चालकहरूसँग मिलेर बचतकर्ताको ठूलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीहरूमा लगाए । काभ्रेको धुलिखेल र पनौती, भक्तपुर साँगा, काठमाडौं फर्पिङ, मकवानपुर चित्लाङ, मोरङ कानेपोखरी, खोटाङ हलेसी लगायत स्थानमा ४ सय रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ ।

सहकारी विभागमा पेस गरेकै विवरणमा ३२ स्थानमा घरजग्गा छ, जसमध्ये केही सम्पत्ति ऋण लगानी नउठेपछि धितो सकारेको दाबी गरिएको छ । काठमाडौं फर्पिङमा २२ रोपनी, बूढानीलकण्ठमा २ रोपनी बढी, थली–डाँछीमा १ रोपनी ११ आना, चपली भद्रकालीमा १ रोपनी १२ आना २ पैसा (घर समेत), टेकुमा २२ आना, नयाँपाटीमा ११ आना २ पैसा, लाजिम्पाटमा २ आना २ पैसा, नयाँबानेश्वरमा ४ आना २ पैसा, बौद्धमा ५ आना २ पैसा, साँखुमा ३ आना जग्गा छ ।

विभागमा पेस भएको बाहेक सहकारी सञ्चालकहरूले काभ्रे भुम्लु गाउँपालिकामा ७ सय रोपनीभन्दा बढी जग्गा किनेका छन्, जहाँ बाख्रा तथा कृषि फार्म चलाइएको छ । काभ्रेकै पनौतीमा १२६ रोपनी जग्गा छ । यहाँ सहकारीका सञ्चालकहरूले उडुवादेवी रोडाढुंगा उद्योग नामक क्रसर उद्योग खोलेका थिए । पछिल्लो समय क्रसर उद्योग बन्द गरेर धमाधम जग्गा प्लटिङ भइरहेको छ । यहाँ २८२ टुक्रा जग्गा निकालिएको छ, जसमध्ये २ सय ८ सञ्चालकहरूसँग छ भने बाँकी प्लानिङ गर्ने कम्पनीलाई दिइएको छ ।

काभ्रेकै मण्डन देउपुर १२ मा ३ रोपनी ५ आना बढी जग्गा छ भने मंगलटारको सुप्रिम स्टोन सहकारी सञ्चालक प्रेमध्वज लामाको नाममा छ । भक्तपुरको साँगामा २८ रोपनी १२ आना, गुन्डुमा ७ आना बढी, धादिङको धुनीबेंसीमा २ रोपनी, तनहुँमा १६ रोपनी र खोटाङको हलेसीमा १८ रोपनी जग्गा छ ।

सहकारीमा आबद्ध ५ जना सहित ६ जनाको नाममा हलेसीको जग्गामा जाम्बला रिसोर्ट प्रालि सञ्चालनमा छ । मोरङको झोडाहाटमा ९ कट्ठा, बखरीमा १० धुर, सर्लाहीको हरिवनमा ५ कट्ठा १० धुर, चितवनमा २० कट्ठा र हेटौंडामा ११ कट्ठा जग्गा छ । सहकारी सञ्चालकहरूको नाममा थुप्रै स्थानमा किनिएको जग्गाको विवरण अझै लुकाइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal