(Saturday , 22 June,2024)

न्युरोडमा फुटपाथ विस्तार विरोधमा स्थानीयको प्रदर्शन  

NepalNewsLine

NepalNewsLine

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड (नयाँ सडक) क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएको थियो ।

पार्किङ हटाएपछि महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरिसकेको छ ।

स्थानीयले ‘नयाँ सडक बचाऔं’, ‘न्युरोड साँघुरो गर्न पाइँदैन’ जस्ता नारा लेखिएका तुल बोकेर न्युरोड गेटदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले न्युरोड गेटबाट जुद्ध शालिकसम्म दायाँबायाँ उभिएर महानगरले निर्माण गर्न लागिएको फुटपाथको चौडाइको आकार बनाएका छन् ।

स्थानीय दायाँबायाँ उभिएको बीच भागमात्र अब सडक बन्ने र त्यस उता फुटपाथ बनाउन लागिएको भन्दै प्रदर्शन गरिरहेका हुन् ।

चालु आर्थिक वर्षको बजेटबाट यो न्यूरोडको फुटपाथ बढाउन बजेट महानगरले छुट्याएको थियो ।

महानगरका अनुसार यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०८० सालको असोज २१ गते स्वीकृत भएको हो ।

यसका आधारमा ८ मंसिर २०८० मा बोलपत्र आह्वान भएको थियो । यसका लागि ७ वटा निर्माण कम्पनीले भाग लिएका थिए ।

करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ (२०.११ प्रतिशत) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्यांकन समितिले ६ वैशाख २०८१ मा छनोट गर्‍यो ।

छनोट भएको निर्माण पक्षलाई सार्वजनिक निर्माण विभागले ३ जेठ मा कार्यादेश दिएको थियो । महानगरको सार्वजनिक विभागका अनुसार न्युरोड, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरू महानगरको वडा नम्बर २२, २३ र २४ मा पर्छन् ।

  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal