(Sunday , 19 May,2024)

कतारबाट फर्किएका यादबलाई काठमाडौंमा बन्धक बनाएर कुटपिट गर्ने दुई जना पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौ । कतारबाट फर्किएका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ का सितेन्द्र यादवलाई बन्धक बनाएर कुटपिट गरी पैसा मागेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

सितेन्द्रलाई काठमाडौंको सिनामंगलस्थित एक घरको कोठामा बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय अजिम अलि र सोही ठाउँका २५ वर्षीय एमडिसनी अलाहीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरूले कतारबाट स्वदेश फर्किएका यादवलाई एकदिन बन्धक बनाई मुक्त हुन चार लाख ८० हजार रुपैयाँ मागेको पाइएको छ।

यादव सोमबार साँझ कतारबाट फर्किएका थिए। कतारमै रहेका मनसुर अलि नामका एक व्यक्तिले उनीसँग २५ ग्राम सुन पठाएका थिए। उक्त सुन आफ्ना भतिज अजिम अलिलाई दिन भन्दै उनले मोबाइल नम्बरसमेत दिएका थिए।

ुसितेन्द्रले सुन लिन आउनु भनेर अजिमको नम्बरमा फोन गरेछन्। तर अर्कै मानिसले सुन लगेको भन्ने बुझिएको छ,’ उनले भने, ‘सुन अर्कै व्यक्तिलाई दिएको भनेर सितेन्द्रलाई आफू बस्ने कोठामा लगेर उनीहरूले बन्धक बनाई कुटपिट गरेछन्।’

सितेन्द्रलाई बन्धक बनाएर कुटपिट गरेपछि उनीहरूले पैसा मागेका थिए। सितेन्द्रको श्रीमतीलाई फोन गरेर उनीहरूले रकम दिए मात्रै छाडिदिने धम्की दिएको पाइएको प्रहरीले जनाएको छ।

यस घटनामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान हुने उनले बताए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal