(Sunday , 12 May,2024)

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै विरोध

NepalNewsLine

NepalNewsLine

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुई वटा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध गरेका छन्। खुलामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व रहेकाले यहाँ फुटबल ग्राउन्ड बनाउँदा त्यसले ती गतिविधिमा असर पुर्‍याउने भन्दै उनीहरूले विरोध जनाएका हुन्।

‘खेलमैदान काठमाडौंको आवश्यकता हो भन्ने कुरामा दुई मत छैन। तर खुलामञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो। कयौं मूर्त र अमूर्त सांस्कृतिक सम्पदा भएको यो स्थल, ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षी पनि हो,’ प्रेस विज्ञप्तिमा उनीहरूले लेखेका छन्, ‘दुईवटा फुटबल ग्राउन्ड निर्माण हुँदा अन्य कार्यहरू हुन नसक्ने स्थिति देखिन्छ। जनताले ऐतिहासिक समयदेखि आफ्नो हक अधिकारको लागि आवाज उठाउने खुलामञ्चलाई यथास्थितिमा जोगाएर राख्नुको कुनै विकल्प छैन।’

‘मुक्त टुँडिखेल’ अभियानका अनुसार यहाँ कुनै प्रकारको निर्माण वा हस्तक्षेप गर्नु गलत हो। हाल ताला लगाइ राखेको खुलामञ्चलाई खुला गरी बच्चादेखि वृद्धसम्मका जनतालाई आवश्यकता अनुसार क्रियाकलाप गर्न दिन उनीहरूले स्थानीय सरकारलाई आग्रह गरेका छन्। 

खुलामञ्च टुँडिखेलको अभिन्न अंग हो। सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चिन पुगेको छ। हाल यसको अतिक्रमण हुने क्रम बढ्दो छ।

यही अतिक्रमण नजरअन्दाज गर्न नसकी खुल्ला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र पूर्ण टुँडिखेलको स्वतन्त्रको लागि ‘मुक्त टुँडिखेल’ नामक अभियान कात्तिक २३ गते शनिवार २०७६ गते देखि सुरू भएको हो। 

यसअघि महानगरले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ बनाउने भनेको थियो। यो कुरामा पनि ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध जनाएका थिए।

‘टुँडिखेलको अभिन्न अंग रहेको खुलामञ्चमामा केही निर्माण गर्नु भन्दा व्यवस्थापनमा जोड दिन हामी अनुरोध गर्छौ। यसको साटो रंगशाला तथा सानो टुँडिखेलमा फुटबल ग्राउन्डसँगै अन्य खेल खेल्ने स्थल बनाउन सकिन्छ,’ उनीहरूले विज्ञप्तिमा लेखेका छन्।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal